आजका ‘गुड न्यूज’ : वागमती प्रदेशमा जागिर खुल्यो

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रेषित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीति तथा नागरिक आन्दोलनका विषयवस्तुले खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । वागमतीका १३ जिल्लाका पालिकामा १७४ अधिकृतस्तरका कर्मचारीको माग वागमती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ । प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग गरेका आधारमा ती सङ्ख्यामा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले जानकारी दिए । आयोगले प्रशासनतर्फका ५९ र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरेको हो । उनले १४९ खुलाबाट र २५ बढुवातर्फका कर्मचारी (हाल स्थानीय तहमा एक तहमुनि तहमा कार्यरत) माग गरेको बताए । माग गरिएका कर्मचारीमा लेखातर्फका छ , शिक्षामा छ , तथ्याङ्कमा एक , सिभिल इञ्जिनीयरतर्फका १४ , बिल्डिङतर्फका इञ्जिनीयर दुई , वातावरण इञ्जिनीयर एक , कृषि प्रसारमा २५ , कृषि बागवानीमा एक , कृषि बाली संरक्षणमा दुई , पोल्टी डेरी डेभलपमेन्टमा नौ , मत्स्यमा एक , भेटनरीमा १९ , कृषि एग्रीमा एक कर्मचारी रहेका छन् । काठमाडौंदेखि भेडेटार र इलामसम्म अब पर्यटक बसमा घुम्न पाइने अब काठमाडौंबाट भेडेटार हुँदै इलामसम्म पर्यटक बस सेवा सुचारु हुने भएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघले पर्यटन बोर्डसँगको सहकार्यमा आगामी फागुनदेखि यो सेवा सुरु गर्न लागेको बोर्डले जनाएको छ । उक्त साझेदारी अनुसार स्वास्थ्य प्रोटोकोेलको पालना गरी सो रुटमा २७ सिट क्षमताका पर्यटक बस सेवा सुरु हुनेछ । नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरी शर्माले दिवासेवामा प्रत्येक ठाउँमा दुईवटा पर्यटक बस सञ्चालनमा ल्याउने जानकारी दिए । सिन्दुलीको बाटो हुँदै चल्ने उक्त बस सेवाका लागि भाडादर भने तोकिएको अवस्था छैन ।
प्रतिक्रिया