NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, आन्दोलनलाई निरन्तरता दिने

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकले समसामयिक विषयमा छलफल, पार्टीको १४ औं महाधिवेशनको तयारी र प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमपछि विरोधका कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘आजको बैठक जारी केन्द्रीय समितिको निरन्तरता हो । बैठकमा महाधिवेशनको तयारीका विषयमा पनि छलफल हुन्छ’ शर्माले नेपालवाचसँग भने, ‘हामी प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरोधमा आन्दोलनमा छौं । दुई चरणसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छौं । अब फेरि पनि विरोधका कार्यक्रम सार्वजनिक गर्छौ ।’ विरोधका कार्यक्रम सार्वजनिक गर्न पौडेल पक्षको दबाब कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले दोस्रो चरणपछि फेरि प्रधानमन्त्रीको कदमविरुद्ध विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गर्नुपर्ने दबाब पार्टीमा बढाएका छन् । बैठकको अघिल्लो दिन सोमबार महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा भएको पौडेल पक्षका नेताहरुको भेलाले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिन र महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन दबाब दिने निर्णय गरेको थियो । आज पनि बैठक अगाडि आफ्नो तर्फबाट केन्द्रीय समितिको बैठक राखिने एजेण्डाको विषयमा छलफल गर्न पौडेल समूहको छुट्टै छलफल बोलाइएको छ । यस्तो छलफल केन्द्रीय समितिको बैठक पूर्व केन्द्रीय कार्यालय सानेपामा हुने महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले दिए ।