विपद्बाट २०२० मा ४४९६ को मृत्यु, सडक दुर्घटनामा मात्रै २०८५ को मृत्यु

काठमाडौं । सन् २०२० मा विभिन्न प्राकृतिक प्रकोपबाट चार हजार चार सय ९६ व्यक्तिको मृत्यु भएको छ । यस्ता घटनामा एक सय दुई जना बेपत्ता भएका छन् । जसमध्ये सडक दुर्घटनाबाट दुई हजार ८५ जनाको मृत्यु भएको छ । पाँच हजार दुई सय ६० जना गम्भीर घाइते भएका छन् । यस्ता प्रकोपमा सडक दुर्घटना र कोभिड–१९ को कारण ८८ प्रतिशतको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले २०२० जनवरी १ देखि डिसेम्बर ३१ सम्मको तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांक अनुसार यो अवधिमा कोभिड–१९ बाट एक हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । पहिरोमा परी तीन सय तीनको मृत्यु भएको छ भने ६४ जना बेपत्ता भएका छन् । बाढीको कारण ४२ को मृत्यु भएको छ भने ३७ जना बेपत्ता भए । यस्तै चट्याङबाट ८२, आगलागीबाट ५३ र सर्पदंशबाट २१ जनाको मृत्यु भएको छ । अन्य लेक, हवाई दुर्घटना, भूकम्प, डढेलो, असिनासहितबाट ५४ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । चित्रमा हेर्नुहोस् २०२० मा विपद्का घटनाबाट मृत्यु र बेपत्ता भएकाको सूची
प्रतिक्रिया