आजका ‘गुड न्यूज’ : बुधबारबाट नेपालमा कोरोनाविरुद्ध खोप सुरू

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रेषित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिक विषयवस्तुका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र, काठमाडौंका १७ अस्पतालमा बुधबारबाट खोप सुरु कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्नेछन् । काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् । काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंँ मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ । भन्सारलाई ‘पेपरलेस’ गर्न राष्ट्रिय एकद्वार प्रणाली भन्सारका सबै कागजी काम सेवाग्राहीको भौतिक उपस्थितिबिनै सम्पन्न गर्ने उद्देश्यसाथ अघि बढाइएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनमा आएको छ । योसँगै अब भन्सारमा कागजी काम कारबाहीको युग सकिएको भन्सार विभागले दावी गरेको छ । मंगलबार ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रणालीको सुरुआत गरे । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएपछि नेपालको भन्सार प्रशासन अन्तर्राष्ट्रिय स्तरको भएको भन्दै प्रणाली सञ्चालन व्यवस्थित गर्दै अघि बढ्ने मन्त्री पौडेलले बताए । मंगलबारदेखि भन्सार प्रक्रियामा जोडिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वरिन्टाइन तथा विषादि व्यवस्थापन केन्द्र र पशु सेवा विभागको सेवा एकद्वार प्रणालीमार्फत सुरु भएको छ । एकद्वार प्रणाली परियोजना कार्यन्वयन इकाईकाअनुसार ति तीन निकायसहित भन्सार विभागबाट सेवाग्राहीले लिनुपर्ने सेवा अब अनलाइनबाट घरमा बसेर सेवाग्राहीले पाउने छन् । प्रणालीमा अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै सूचना तथा सेवा उद्योगी व्यवसायीले अनलाइनबाटै पाउनेछन् । यसअघि लाइसेन्स, पर्मिट तथा अन्य सर्टिफिकेटको लागि भन्सार विभागसँगै दर्जन हाराहारी सरकारी निकायमा सेवाग्राही धाउनु पथ्र्यो । अन्तर्राष्ट्रिय व्यापारसँग जोडिने अन्तरसरकारीसहित निजी तथा अन्य गरी ४० वटा भन्दा बढी निकायहरु आगामी साउनसम्म प्रणालीमा आबद्ध भइसक्ने छन् । घरमै बसेर सेवाग्राहीले आफ्ना सबै कागज पत्र प्रणालीमा समावेश गरेर प्राप्त गर्ने सेवाले डुइङ बिजनेस कष्ट घटाउने सरकारी दावी छ । काठमाडौं महानगरका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति काठमाडौँ महानगरपालिकाले दस महिनापछि मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण चैत ७ देखि बन्द रहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो । कामपाको आइतबार बसेको शिक्षा समिति बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका– २०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उनले बताए ।
प्रतिक्रिया