NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी

इलाम । कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढेको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढेको हो । विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । संस्थागत विद्यालयमा पु्रै शैक्षिक सत्रको र अतिरिक्त प्रयोगमार्फत पठनपाठनको शुल्क तिर्नुपर्ने सम्भावना देखेपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना भएका हुन् । शैक्षिक सत्र सधैँ वैशाखबाट शुरु हुन्थ्यो तर यसपटक कोरोनाका कारण दशैँपछि मात्र विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउन थाले । बन्दाबन्दीपछि केही विद्यालयले वैकल्पिक विधिबाट समेत पढाउन थाले । निजी विद्यालयले पूरै शैक्षिक सत्रको शुल्क तिराउने बुझेपछि बच्चालाई सामुदायिक विद्यालयमा लगेको इलाम सदरमुकाममा बसोबास गर्ने एक विद्यार्थीका अभिभावकले बताए । विगतका वर्षमा निजी विद्यालयमा बच्चा पढाइरहेका ती व्यक्तिले पुरानो विद्यालयले वैकल्पिक माध्यमबाट पढाउँदाको शुल्कसाथै अन्य शुल्क तिराउने बताएको थियो । “कात्तिकपछि त के पढाइ हुन्छ र ? बोर्डिङले पनि बोलाएको हो तर शुल्क तिर्न नसकिने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेँ”, नाम नखुलाउने शर्तमा ती अभिभावकले भने, “आखिर पढाइ उस्तै जस्तो लाग्यो । अनि सदरमुकामकै निजी विद्यालय छोडाएको हो ।” सदाजस्तो विद्यालयले यस वर्ष भर्ना अभियानले गराउन पाएनन् । विगतका वर्षमा अभिभावकको घरघर पुगेर विद्यार्थी भर्ना अभियान चलाउने सामुदायिक विद्यालयका शिक्षक अभियानै नचलाउँदा पनि विद्यार्थी आएको बताउँछन् । विगतको तुलनामा झण्डै ३० प्रतिशत विद्यार्थी बढेको सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयका शिक्षक शिरोमणि भट्टराई बताउँछन् ।