NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

आजका ‘गुड न्यूज’ : तीन महिनाभित्र सम्पूर्ण नेपालीले कोरोनाको खोप निशुल्क पाउने

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रेषित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिक विषयवस्तुका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । सुरू भयो नेपालमा कोरोनाविरुद्धको खोप अभियान कोरोना भाइरस संक्रमण सुरु भएको एक वर्षमा नेपालमा यसविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट भर्चुअल रुपमा खोप अभियानको सुरुवात गरेका हुन् । भारतबाट ल्याइएको १० लाख खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकबाट लगाउन सुरु गरिएको हो । ७७ वटै जिल्लामा १२० वटा खोप केन्द्रमा एकैपटक अभियान सुरु भएको छ । तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोनाको खोप निशुल्क पाउने प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९)को खोप तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई लगाउने गरी सरकार अघि बढेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध थप खोप ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । यस्तो खोप सरकारले किनेरै भए पनि निशुल्क उपलब्ध गराउने प्रतिवद्धता उनले गरेका हुन् । भारतले अनुदानमा दिएको १० लाख डोज खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भारतसहित अन्य मित्रराष्ट्र र संघ संस्थामार्फत् खोप ल्याउन सरकारले पहल गरिरहेको बताएका हुन् ।