सरकार संरक्षित हत्यारालाई कारवाही गर्न थापाको माग

काठमाडौं । कांग्रेस नेता गगन थापाले बझाङमा तरुण दलका कार्यकर्तालाई सरकार संरक्षितहरुले हत्या गरेको भन्दै हदैसम्मको कारवाहीको माग गरेका छन् । सामाजिक संजालमा लेख्दै थापाले वडा अध्यक्षको सरकारी मोटरसाइकलमा चढेर आएकाबाट दलका कार्यकर्ता अमृत सिंहको हत्या हुनुलाई दण्डहीनताको पराकाष्ठा भनेका छन् । ‘वडा अध्यक्षको सरकारी मोटरसाइकल चढि आएका मानिसबाट अमृत सिंहको हत्या हुनु दण्डहीनताको पराकाष्ठा हो’ थापाले भनेका छन्, ‘सरकरद्वारा संरक्षित हत्यारालाई कानुनी कठघरामा ल्याउन हामी हदैसम्म लाग्नेछौं। मृतक अमृत सिंह प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’ विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कांग्रेस समर्थित उम्मेदवार विजयी भएपछि १३ माघ साँझ तरुण दलका कार्यकर्ताको खुँडा प्रहार गरी हत्या गरिएको थियो । हत्यामा वडा अध्यक्षले चढेको मोटरसाइकल प्रयोग भएको थियो । हत्यामा आरोपित वडा अध्यक्षसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष विकास ऐडी, प्रकाश ऐडी, ज्ञानबहादुर कडायत र केदार ऐडी पक्राउ परेको डिएसपी रुपक खड्काले जानकारी दिए ।
प्रतिक्रिया