NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

चितवनमा सबै घरेलु हिंसाका घटनामा मिलापत्र

भरतपुर । चितवनमा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको छ । चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा सबै मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताएअनुसार कार्यालयमा खान लाउन नदिएकोमा १७, कुटपिट गरेकोमा १८ र गाली बेइज्जती गरेकोमा १३ वटा उजुरी परेका छन् । घरेलु हिंसामा गत आर्थिक वर्षमा तुलनात्मकरूपमा कमी आएको तथ्यांकमा देखिएको छ । गत आव ०७६÷७७ मा कूल ८४ वटा घरेलु हिंसाका उजुरी परेका थिए । तिनमा खान लाउन नदिएकोमा २५, कुटपिट गरेकोमा ३३ र गाली बेइज्जती गरेकोमा २६ वटा उजुरी परेका थिए । सबै उजुरीलाई मिलापत्रमा टुङ्ग्याइएको थियो । गत तीन वर्ष र चालु आवको छ महिनाको तथ्याङ्कलाई हेर्दा कुटपिट गरेका उजुरी सबैभन्दा धेरै परेका छन् । सामाजिक र पारिवारिकरूपमा अन्तरविरोध नहोस् भनेर प्रहरीले घरेलु हिंसालाई सकभर मिलापत्रमा टुङ्ग्याउने गरेको छ । प्रवक्ता थापाका अनुसार घरेलु हिंसाका निवेदनलाई एक महिनासम्म दर्ता गरेर मात्र राखिन्छ । एक महिनासम्ममा परिवारमा उनीहरुको मेलमिलाप भइसकेको हुन्छ । यदि एक महिनासम्ममा पनि मेलमिलाप नभएमा मुद्दालाई अदालतमा लगिन्छ । अदालतमा पनि सकभर मिलाउने प्रयास गरिन्छ । आवेशमा आएर पीडितले उजुरी दिने गरेको भए पनि अधिकांश पीडितपछि मिल्न चाहेको देखिने थापा बताउँछन् ।