नेकपाको आधिकारीकता विवाद समाधानका लागि निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्ड–नेपाल पक्ष अनुपस्थित

काठमाडौं । नेकपाको आधिकारीकता विवाद चर्किएपछि र पार्टी विभाजनलाई पनि अस्वीकार गरेपछिको परिस्थितिमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्ड–माधव नेपाल पक्ष अनुपस्थित भएको छ । प्रतिनिधि सभा विघटन गरेपछि सरकारले घोषणा गरेको निर्वाचन व्यवस्थापनका लागि तयारी अघि बढाएको आयोगले जनाएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि अहिले सर्वोच्च अदालतमा बहस पनि चलिरहेको छ ।यसै परिवेशमा छलफलका लागि बुधवार आयोगले दुवै पक्षलाई डाकेको थियो । ‘राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीका सम्बन्धमा हालसम्म गरेका कामका विषयमा छलफल आयोगले दुवै पक्षलाई आयोगमा डाकेको थियो । आयोगले दुवै पक्षका अध्यक्ष वा अध्यक्षले तोकेका आधिकारीक प्रतिनिधि र निर्वाचन तथा कानुन विषय हेर्ने प्रतिनिधि आयोगमा उपस्थित हुन भनेको थियो । तर, आयोगले डाकेको छलफलमा प्रचण्ड–माधव नेपाल पक्ष अनुपस्थित भएको हो । अध्यक्ष तोकिएका प्रचण्ड र माधव नेपाल दुवै जना आगामी आइतवारसम्म काठमाडौं उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त भएकाले उपस्थित हुन र प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको जानकारी उक्त पक्षले आयोगलाई गराएको छ । ‘छलफलमा अध्यक्ष स्वयं उपस्थित भइ छलफल गर्न चाहनु भएको हुँदा सोका लागि तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहन्छु,’ उक्त पक्षले आयोगलाई पठाएको जानकारी पत्रमा उल्लेख छ । आगामी आइतवारपछि उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न पनि उक्त पक्षले आयोगलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया