NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

अलैंचीबाट उकासिएका लमजुङका कृषकको कथा

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोला गाउँबाट बेँसीशहर झरेका अजय तामाङ परिवारका साथ सुख, सयल र सुविधाको जीवन बिताउने सपना देखेर १३ वर्षअघि दुवई हानिए । तर, उनको सपना केवल सपना मात्रै भयो । विदेशमा न सोचेजस्तो काम, न सोचेजस्तो कमाइ । साढे दुई वर्षपछि उनी नेपालै फर्किए । न विदेशको कमाइ, न स्वदेशमा कुनै रोजगारीको उपाय । दुविधा बढ्दै गएपछि उनले झलक्क सम्झिए, छिनखोलाकै पाखोपखेरो । उतिबेला गाउँगाउँमा अलैँची खेतीको लहर चलेको थियो । त्यही लहरमा लहरिँदै तामाङ पसे छिनखोलाको सेपिलो पाखातिर । उनले अलैंची खेती सुरु गरे । उतिबेला काम खोज्दै विदेश भौँतारिएका उनी अहिले उम्दा अलैँची कृषक बनेका छन् । सुरुमा उनले एक रोपनी जग्गामा अलैँची खेती सुरु गरे । खेतीमा राम्रो हुन थालेपछि अहिले ४० रोपनी क्षेत्रफलमा उनले अलैंची लगाएका छन् । अलैँची दाना बेचेर अघिल्लो वर्ष पाँच लाख बढी कमाएको उनले बताए । यस वर्ष पनि अलैंचीका दाना बेचेर उनले त्यही हाराहारीमा आम्दानी गरेका छन् । यस वर्ष उनले ४०० किलो अलैँची उत्पादन गरेका छन् । अलैँची खरिद–बिक्री गर्ने बिरुवा बिक्रीबाट गत वर्ष डेढ लाख बिरुवा उत्पादन गर्दै बिक्री गरेको र यस वर्ष दुई सय बिरुवा उत्पादन गर्ने लक्ष्य अलैँची कृषक तामाङको छ । उनले आफ्नै बारीमा अलैँची नर्सरी स्थापना गरेर उत्पादनका साथै अलैँची बिरुवा बिक्री गर्दै आएका छन् । अलैँचीका दाना र बिरुवा बिक्री गरेर वार्षिक १२÷१३ लाख सजिलै आम्दानी हुने गरेको उनको भनाइ छ । आकर्षक आम्दानी हुन थालेपछि सुरुमा त उनलाई सपनाजस्तै लागेको थियो । किनकी यसअघि उनले कहिल्यै अलैंचीबाट आम्दानी गरेका थिएनन् । अलैंची व्यवसाय सम्हाल्नुभन्दा अघि परिवारको सुनौलो भविष्यको सपना देख्दै आफू विदेश गएको अनुभव उनी सुनाउँछन् । ‘त्यहाँ दुःख गरेपनि वार्षिक तीन लाखभन्दा बढी कमाइ हुन सकेन, अहिले परिवारको साथमा घरमा बसीबसी वार्षिक १२÷१३ लाख र कुनै वर्ष त १५ लाखसम्म कमाइ भएको छ,’ तामाङ भन्छन्, ‘यतिका आम्दानी हुन्छ भनेर कहिल्यै सोचिको नै थिइनँ, अलैँची खेतीले मेरो भाग्य नै परिवर्तन गरिदिएको छ ।’ उनी अहिले नेपाल अलैँची व्यवसायी महासंघ लम्जुङ शाखामात्र होइन गण्डकी प्रदेशकै अध्यक्ष छन् । रोजगारी नभएर गाउँ छाड्ने गरेका र विदेशमा रहेका युवालाई गाउँगाउँमा आएर अलैँची खेती गरी विदेशमा भन्दा राम्रो आम्दानी गर्न उनको आग्रह छ । कति युवालाई त उनले विदेश जानबाट रोक्दै अलैँची व्यवसायमा आबद्ध गराएर सफल कृषकसमेत बनाइसकेका छन् । अजयजस्तै मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि अलैँची खेती गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनले पनि अलैँची व्यवसाय सुरु गर्नुअघि १० वर्ष मलेसियामा काम गरे । तर, वैदेशिक रोजगारीबाट उनको खासै प्रगति भएन । सुनौलो भविष्य देखेर विदेश गएका उनको जीवन त्यहाँ सोचेजस्तो भएन । ‘कडा परिश्रम गरेकै थिएँ, तर आम्दानी सोचेजस्तो नहुँदा परिवारको खर्च पनि चलाउन मुस्किल भयो,’ उनले भने, ‘घडेरी, सम्पत्ति जोड्ने कुरात परको हुन पुग्या, घरखर्च चलाउन पनि मुस्किल भयो ।’ विदेशबाट फर्किएपछि गाउँमा छाडेर गएको बाँझो जग्गामा अलैँची खेती विस्तार गर्न थाले । विदेशबाट आउने बित्तिकै २३ वर्षअघि शुरुमा एक रोपनी जग्गाबाट अलैँची खेती विस्तार गरेका उनले अहिले ४० रोपनी क्षेत्रफलमा अलैँची खेती गरेका छन् । विदेशमा कमाइ गर्न नसके पनि नेपालमा नै अलैँची खेतीबाट धेरै राम्रो आम्दानी भइरहेको उनले बताए । वार्षिक सात लाखसम्म अलैँची दानाबाट आम्दानी गर्ने गरेको उनको भनाइ छ । उनले स्थापना गरेको खाचे अलैँची नर्सरी तथा जडीबुटी नर्सरी फार्ममा उत्पादित नर्सरी अलैँचीको बिरुवा बिक्रीबाट वार्षिक चार लाखसम्म आम्दानी हुने गरेको छ । विदेशमा गर्न नसकेको आम्दानी परिवारको साथमा बसेरै राम्रो आम्दानी भएपछि अहिले उनलाई अलैँची व्यवसाय ढिलो सुरु गरेको र विदेश गएकोमा पछुतो छ । तामाङद्वय जस्तै अर्का अलैँची कृषक मस्र्याङ्दी –७ छिनखोलाका बलराम लामाले अलैँचीबाट वार्षिक ९÷१० लाख आम्दानी गर्दै आएका छन् । अलँैची खेती सुरु अर्नुअघि आफ्ना गाउँठाउँको जग्गा जमीन घरपरिवार र आफन्त छोडेर उनी विदेश पुगे । रोजगारीको सिलसिलामा पाँच वर्षसम्म खाडी मुलुकमा भविष्य नदेखेपछि आफ्नै गाउँमा अलैँची खेती गर्न थालेका लामाले २० रोपनी जग्गामा अलैँची खेती गर्दै आउका छन् । यस वर्ष अलैँची बिक्रीबाट पाँच लाख आम्दानी गर्न सफल भएको उनले बताए । विदेशमा दुई लाख आम्दानी गर्न कठिन भएको बताउँदै उनले अहिले अलैंचीले त्यहाँको भन्दा दोब्बर बढी आम्दानी भएको र परिवारको गुजारा राम्रैसँग चलेको अनुभव सुनाए । ‘विदेशमा भन्दा स्वदेशमै गर्नसके भविष्य उज्वल हुँदो रहेछ,’ उनी भन्छन् । ३६ वर्षअघिबाट लमजुङमा अलैँची खेती शुरुआत भएको अलैँची महासंघ गण्डकी प्रदेशका अध्यक्ष तामाङको भनाइ छ । अलैँची खेतीतर्फ युवा आकर्षित भएको र यसले कृषकको जीवन नै परिवर्तन भएको उनले बताए । पछिल्ला वर्षमा शहर पसेका पनि गाउँगाउँ आएर अलैँची खेती गर्न थालेको जनाउँदै उनले परम्परागत खेतीभन्दा अलैँची खेतीबाट धेरै आम्दानी हुने भएकाले यसतर्फ आकर्षण बढेको उनले बताए । जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । यस वर्ष कृषकले तीन हजार ५०० क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका छन् । जिल्लामा एक ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार भएको छ । अलैँचीको विभिन्न प्रकारका हुने भए पनि जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आइएको छ ।