NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

छैन हिउँ, नाङ्गै छन् हिमाल

काठमाडाैं । तुलसी दाहाल विगत पाँच वर्षदेखि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मुस्ताङ क्षेत्रको इन्चार्जका रुपमा कार्यरत् छन् । विगतका वर्षहरूमा कात्तिक/मंसिरबाटै हिउँ पर्न सुरु गर्ने मुस्ताङमा यो वर्ष भने दाहालले राम्रोसँग हिउँ परेको देख्न पाएका छैनन् । ‘पहिले चार/पाँच फिटसम्म हिउँ पर्ने यस क्षेत्रमा गत वर्ष पनि राम्रै हिउँ परेको थियो,’ दाहाल भन्छन्, ‘तर, यो वर्ष तिहारतिर केही हिउँ परेजस्तो भएपनि पहिलेजस्तो राम्रोसँग परेको छैन ।’ मुस्ताङ क्षेत्रमा पर्ने र त्यहाँबाट देखिने अन्नपूर्ण, लमजुङ, गंगापुर्ण लगायतका हिमाल अहिले हिउँविहीन देखिन्छन् । ‘स्नो रिजन’ मा केही मात्रामा हिउँ परेको हुनसक्ने भएपनि यो वर्ष विगतमा जस्तो हिउँ नपरेको दाहाल बताउँछन् । मुस्ताङमात्र होइन मनाङ, रुकुम लगायतका क्षेत्रका चाँदीझैं टल्किने हिमालमा अहिले हिउँ छैन ।पश्चिम नेपालको हिमाली क्षेत्रमा केही मात्रामा हिउँ परे पनि पुर्वी र मध्य क्षेत्रमा विगतको तुलनामा यो वर्ष कम हिउँ परेको वातावरणविद् प्रभु बुढाथोकी बताउँछन् । ग्लोवल वार्मिङको असर पछिल्लो वर्षहरूमा विश्वभर नै तापक्रम बढ्दै गएको तथ्यहरू सार्वजनिक भइरहेका छन् ।अमेरिकी संस्था ‘नेसनल ओसनिक्स एण्ड इन्भेरोमेन्टल एडमिनिस्ट्रेसन’का अनुसार विगत तीस वर्षयता (१९८० यता) पृथ्वीको तापक्रममा ०.००७ डिग्री सेल्सियसले वृद्धि भएको छ । एसियाका आठ देशमा ३५०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ‘हिन्दु कुस हिमालय क्षेत्र’ का हिमनदीका हिउँ पग्लने गतिमा पनि परिवर्तन आएको अध्ययनहरूले देखाएका छन् । हिन्दु कुस हिमालय क्षेत्रको हिमाल र हिउँबारे अध्ययन गर्ने संस्था इसिमोडले सन् २००८ यता हिमाल र हिउँबारे गरेको अध्ययन रिर्पोट अनुसार पछिल्ला वर्षहरूमा नेपालको हिमालय क्षेत्रमा रहेका हिमनदीहरू बग्ने सतह वर्षेनी करिब दुई फिट उकालिँदै गएको छ । हिमनदी बग्ने सतह उकालिँदै जानुको अर्थ हिमाली क्षेत्रको तापक्रम बढ्दै गएको बुझाउँछ, जसलाई जलवायु परिवर्तन (ग्लोवल वार्मिङ) को असर मानिएको छ । हिमाली क्षेत्रमा हिउँ पर्ने प्रवृत्तिमा आएको परिवर्तनले पनि ‘ग्लोवल वार्मिङ’को संकेत गरेको बताउँछन्, वातावरणविद् सतन अधिकारी । ‘विगतमा जुन मात्रा र जुन समयमा हिमालमा हिउँ पथ्र्यो, त्यो अहिले छैन्,’ अधिकारी भन्छन्, ‘हिउँ पर्ने प्रवृत्तिमा आएको परिवर्तनले ग्लोवल वार्मिङको संकेत गरिरहेका छन् ।’ नेपालको हिमाली भेगमा हिउँ पर्नलाई हिउँदे वर्षाले अहम भूमिका खेल्छ । कात्तिक/मंसिर महिनामा पर्ने हिउँदे झरीको समयमा हिमाली भेगमा हिउँ पर्ने गर्छ । वातावरणविद् विनोद भट्टका अनुसार पश्चिमको मेडिटेरियन समुद्र क्षेत्रबाट आउने वायुका कारण बादल बन्ने र हिउँदको समयमा नेपालमा वर्षा हुन्छ । तर, यो वर्ष उक्त वायु देशैभर राम्रोसँग सक्रिय नहुँदा वर्षा हुन नसकेको उनी बताउँछन् । भट्ट भन्छन्, ‘मेडिटेरियन क्षेत्रबाट आउने वायुको प्रभावले नेपालमा कात्तिक/मंसिर महिनामा झरी पथ्र्यो । तराई क्षेत्रमा हिउँदे झरी पर्दा नै हिमाली क्षेत्रमा हिउँ पर्ने गथ्र्यो । तर, यो वर्ष वायुको प्रभाव सक्रिय रुपमा पर्न सकेको छैन् ।’ अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङका इन्चार्ज दाहाल आफैं हिमालबारे जानकार हुन् । हिमाल र हिमालमा पर्ने हिउँको प्रकृतिबारे जानकारी राख्ने उनी यो वर्ष नेपालमा पश्चिमबाट आउने हावाको प्रभाव कम परेकाले हिउँ केही क्षेत्रमा परेपनि देशैभर पर्न नसकेको बताउँछन् । ‘मनाङ–मुस्ताङमा जस्तै देशका मध्य र पूर्वी भुभागमा पनि हिउँ पर्न सकेको छैन्,’ उनी भन्छन्, ‘पश्चिम भुभागमा केही मात्रामा हिमपात भएपनि त्यहाँ पनि पहिलेजस्तो हिउँ यो वर्ष परेको छैन् ’ हिमपात र हिउँदे झरी गराउने वायु नेपालमा अनियमित रुपमा आइरहेको दाहाल बताउँछन् ।विगतको तथ्यांक हेर्ने हो भने सन् २०१५ मा मनाङ–मुस्ताङसँगै देशको पश्चिम र मध्य भागमा निकै हिमपात भएको थियो । तर, त्यसपछिका दुई वर्ष सन् २०१६ र २०१७ मा यी क्षेत्रमा राम्रोसँग हिमपात हुन सकेन् । त्यसपछि फेरि सन् २०१८ मा केही मात्रामा हिमपात भएपनि सन् २०१९ मा राम्रोसँग हिमपात भएन । दाहाल भन्छन्, ‘गत वर्ष मुस्ताङमा व्यापक हिमपात भएको थियो, यस क्षेत्रका स्थानीयका अनुसार सन् २०१५ मा यहाँ चार फिटसम्म हिउँ परेको थियो, यसपटक त हिउँ नै छैन,’ दाहाल भन्छन्, ‘यसले हिमपात अनियमित भएको देखिन्छ ।’ जम्ने हिउँ पग्लिँदा हिमाल नांगै हिउँदमा पर्ने झरी अनियमित भएझैं अहिले बर्खाको समयमा पर्ने झरीको प्रवृत्तिमा पनि परिवर्तन आएको वातावरणविद् भट्ट बताउँछन् । एक दशकअघिसम्म पनि असार–साउनमा निरन्तर महिना÷दुइ महिनासम्म निरन्तर झरी पथ्र्यो । यसरी झरी पर्दा हिमाली भेगको तापक्रमका कारण ती क्षेत्रमा हिउँ पर्ने गथ्र्यो । लामो समयसम्म निरन्तर झरी पर्दा त्यो पानी जमेर हिउँ बन्ने प्रक्रिया हुन्थ्यो । वर्षात्को मौसममा जमेको हिउँले लामो समयसम्म हिमालहरू सेताम्मे देखिन्थे । तर, अहिले असार–साउनमा पर्ने झरीको प्रवृत्तिमा पनि परिवर्तन आएको छ । वातावरणविद् बुढाथोकीका अनुसार केही समययता बर्षात्मा केही दिन मुसलधारे पानी पर्ने र त्यसपछि साम्य हुने प्रवृत्ति देखिएको छ । उनी भन्छन्, ‘पहिले लामो समयसम्म निरन्तर झरी पथ्र्यो, जसले तराईमा झरी र हिमाली भेगमा हिउँ पर्ने गथ्र्यो । तर, अहिले हिमाली क्षेत्रको तापक्रम बढेकाले त्यहाँ पानी जमेर हिउँ बन्नै पाउँदैन् ।’ तर, वर्षात् र हिउँद् दुवै मौसममा पानी पर्ने रुटिनमा परिवर्तन आउनुले हिमालहरू हिउँविहीन ‘कलापत्थर’ जस्तो देखिएको वातावरणविद् भट्ट बताउँछन् । इसिमोडको अध्ययनका अनुसार हिमाली क्षेत्रमा तराईको भन्दा दोब्बर तापक्रम बढेको छ ।वातावरणविद् बुढाथोकी दुई उच्च प्रदुषित मुलुक चीन र भारतले घेरिएको नेपालमा त्यहाँको प्रदुषणले प्रभाव पार्दा पनि तापक्रम उच्च भएको बताउँछन् । प्रदुषणका कारण वायुमण्डलमा मिसिने ‘मिनि कार्बन’ले तापक्रम बढाउनमा थप भूमिका खेलिरहेको उनको बुझाइ छ । त्यससँगै हिमाली भेगमा पर्ने हिउँमा मिनि कार्बन मिसिएको हुँदा त्यसले हिउँ पग्लने प्रक्रियालाई पनि तीब्र गराउँछ । ‘मिनि कार्बन चाँडो तात्छ र यसले हिउँलाई पनि पगाल्न अहम् भूमिका खेलिरहेको हुन्छ,’ बुढाथोकी भन्छन्, ‘नेपालको हिमाली भेगको हिउँ एक त जम्न नपाउने र चाँडै पग्लिने भएकाले अहिले हिमालमा हिउँ नदेखिएको हो ।’ कृषिदेखि पर्यटन क्षेत्र प्रभावित हिउँ नपर्नुले कृषिसँगै पर्यटन लगायतका विषयमा असर गरिरहेका हुन्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ क्षेत्रका इन्चार्ज दाहालका अनुसार अहिले मुस्ताङमा स्याउ खेतीका लागि माटो तयार गरिँदै छ । यो वर्ष हिउँ नपर्नुले तत्कालै कृषिमा असर नगरेपनि अर्को सिजनमा बाली लगाउने बेला असर गर्ने आफू बुझेको बताउँछन्, दाहाल । हिउँ नपर्दा यतिखेर मनाङ–मुस्ताङका किसानहरू वर्षेनी हिउँदमा पर्ने हिउँको आडमा गरिने खेतीबारी यसवर्ष नफस्टाउने चिन्तामा देखिएका छन् । हरेक वर्ष मंसिर सुरु नहुँदै सेताम्मे देखिने डाँडाहरू माघमध्य पुग्दा पनि कालापत्थरको रुपमा देखिएका छन् । हिमाली भेगमा हिउँदमा परेको हिउँले माटोलाई चिसोसँगै खुकुलो बनाइरहेको हुन्छ । पानी जम्दा त्यसको आयतनमा पनि वृद्धि हुनाले माटो भित्रको हिउँ पग्लिदाँ ‘ग्याप’ निर्माण भएका हुन्छन्, जसले माटोलाई खुकुलो बनाएको हुन्छ । वातावरणविद् भट्टका अनुसार हिउँ नपर्दाको असर कृषिमा तत्कालै नदेखिएर दीर्घकालमा देखिन्छ । उनी भन्छन्, ‘माटोलाई चिस्यान नपुग्ने, मलिलोपन हराउने समस्या अहिले नै देखिदैंन्, पछि बाली लगाउने बेला देखिन्छ । हिमाली भेगमा चिस्यानको स्रोत हिउँ भएकाले हिउँ नै नहुँदा कृषिका उत्पादनलाई यसले प्रभावित गर्छ ।’ कृषिसँगै हिमपात नहुनुले पर्यटकीय क्षेत्रमा पनि उत्तिकै असर गरिरहेकाे देखिएकाे छ । केही वर्षअघि पनि काठमाडौं उपत्यकाबाट चन्द्रगिरी, फुलचोकी लगायतका क्षेत्रमा हिउँ खेल्न जानेहरूको लर्को लाग्थ्यो । तर, विस्तारै त्यसमा पनि कमी देखिएको छ । काठमाडौं उपत्यका छेउछाउजस्तै देशका विभिन्न हिउँ पर्ने ठाउँमा यो वर्ष पर्यटकहरुको चहल पहल देखिएको छैन् । दाहालका अनुसार विगत वर्षहरूमा मुस्ताङमा हिउँदे सिजनमा पनि पर्यटकहरूको चहलपहल देखिन्थ्यो । प्रायः पर्यटकहरू मुस्ताङ्गका हिउँ नै देखेर त्यहाँ पुग्थे । तर, यो वर्ष मुस्ताङमा पर्यटकको त्यत्ति चहल पहल देखिएको छैन् । ‘एउटा कारण त कोभिड पनि होला,’ दाहाल भन्छन्, ‘तर, यस्तै भइरहने हो भने अर्को वर्ष पनि पर्यटकका संख्या बढ्न सक्दैन्, विगतमा जति पर्यटकहरू आउँथे यो वर्ष त्यत्ति पर्यटक आउन सकेका छैनन् ।’ नेपालको हिमाली भेगमा घुम्न आउने पर्यटकहरूले हिउँलाई नै प्राथमिकतामा राखेका हुन्छन् । हिमाल आरोहण गर्न होस् वा सामान्य घुमघामकै लागि मात्र, पर्यटकहरू हिउँले ढाकिएकै हिमाल हेर्न नेपाल आउँछन् । ‘हिमाल हेर्न भनेर आएका पर्यटकहरू हिउँ नदेखेपछि खुसी भएर फर्किदैंन्,’ भट्ट भन्छन्, ‘जतिसुकै हरियाली होस, जतिसुकै सत्कार गरेपनि पर्यटक खुसी हुँदैन् । यसले पर्यटन व्यवसायमा पनि दीर्घकालमा असर गर्ने सम्भावना छ ।’ दीर्घकालिन संकटको संकेत इसिमोडको अध्ययनलाई हेर्दा नेपालको हिमाली क्षेत्रमा पछिल्लो समय तापक्रम बढिरहेको छ । यही मात्रामा तापक्रम बढ्ने हो भने शताब्दीको अन्त्यसम्ममा ७० प्रतिशत हिउँ पग्लिसक्छ । तापक्रम बढ्दा हिमाली क्षेत्रमा हिउँ पर्ने प्रवृत्तिलाई हेर्दा विगतमा भन्दा पछिल्लो एक दशक यता निकै परिवर्तन भएको छ, जसले इसिमोडको भविष्यवाणीलाई थप बलियो बनाएको देखिन्छ । वातावरणविद् बुढाथोकीका अनुसार केही दशकअघिसम्म निरन्तर पाँच/छ वर्ष हिमपात हुने र एक वर्ष हिमपात नहुने प्रवृत्ति थियो । हिमपात हुने समय लामो र हिमपात नहुने समय छाटो थियो । तर, अहिले ठिक उल्टो भएको छ । पछिल्लो पाँच वर्षमै पनि दुई वर्ष राम्रोसँग हिमपात हुन पाएको छ, सन् २०१५ र सन् २०२० मा । तर, त्यस बाहेकका वर्षहरूमा सामान्य हिमपात भएका छन् । ‘हिमाली क्षेत्रमा हिउँ नदेखिनु र हिउँ पग्लनुको असर विस्तारै देखिन थालेको छ,’ बुढाथोकी भन्छन्, ‘अहिले हिमालमा हिउँ नदेखिनु दीर्घकालिन समस्याको पूर्वसंकेत हो । हिमालमा हिउँ नपर्ने फ्रिक्वेन्सी छिटोछिटो देखिएको छ । यसको असर दीर्घकालमा हाम्रा नदीहरूमा पानीको बहाव बढ्ने र पछि तिनै नदिनालामा पानी सुक्ने समस्या देखिन थाल्छन् । अहिले देखिएको समस्या भोलीको संकटको पूर्व संकेत हो ।’