मनाङको वनमा लागेको आगो अझैं नियन्त्रण बाहिर

मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङको नासो गाउँपालिका रहेका जङ्गलमा आगो सल्किएको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन’, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भने । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् । तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ । उहाँले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भने, ‘पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौँ ।’ ताचै संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्रयास भैरहेको बताए । अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले चासो नदिएको गुनासो गरेका थिए । आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ ।अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेकोे वडा ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । आगो गाउँमा छिरेपछि पनि कतैबाट पनि सुरक्षा नपाएकामा आक्रोश व्यक्त गर्दै उनले भने, ‘प्रशासनले आगो लगाउने व्यक्ति पहिचान गर्न चासो देखाएन र अन्य सङ्घसंस्था पनि गम्भीर देखिएनन् ।’
प्रतिक्रिया