वैशाखमा गर्ने निर्वाचनका लागि आयोगले अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब ८ करोड

काठमाडौं । आगामी वैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनका लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ । बुधबार मन्त्रालयमा पत्र पठाई आयोगले उक्त रकम माग गरेको हो । आयोगले कोभिडको समयमा निर्वाचन गर्नुपर्ने भन्दै विगतका निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुने गरी महामारीमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कतासमेतलाई ध्यान दिएर आर्थिक कार्यविधि गरिएको जनाएको छ । अर्थमन्त्रीसँग २० माघमा भएको छलफललाई समेत आधार मानेर निर्वाचनको संचालन र व्यवस्थापनको लागि न्यूनतम बजेट माग गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विगतमा निर्वाचनमा प्रयोग भएको मतपेटिकासहितका उपकरण, सवारी साधनहरु मर्मत गरी प्रयोग गर्न सकिने भन्दै नयाँ सामग्रीको खरिदको लागि बजेटमा प्रस्ताव नगरिएको आयोगले जनाएको छ । कोभिडसँग सम्बन्धित सुरक्षा सतर्कताको लागि मात्रै आयोगले ३७ करोड ४१ लाख ७४ हजार प्रस्ता गरेको जनाएको छ । निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन आयोग, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको आयोगको भनाई छ । निर्वाचनसँग सम्बन्धि तालिमहरु अनलाइनबाट पनि व्यवस्थापन गरिएकोले आगामी निर्वाचन थप मितव्ययी हुने गरी आयोगले काम गरिरहेको जनाएको छ ।
प्रतिक्रिया