NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

असंवैधानिक नियुक्तिपछि कांग्रेस नेता पौडेलद्वारा केन्द्रीय समिति बैठक बोलाउन देउवासँग माग

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले देशमा एकपछि अर्को गर्दै राजनीतिक घटनाक्रम विकसित हुँदै गएको भन्दै केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । संसद छलेर ल्याइएको अध्यादेशको आवरण संवैधानिक निकायमा असंवैधानिक नियुक्ति भएको भन्दै पौडेलले छलफल गर्न सभापति शेरबहादुर देउवासँग तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन् । ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेका छन् । ‘संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ती त्यसैको पछिल्लो कडी हो’ पौडेलले भनेका छन्, ‘यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।’ संसदीय सुनवाइविनै सरकारले विभिन्न संवैधानिक आयोगहरुमा पदाधिकारीको नियुक्ति गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले औपचारिक प्रतिक्रिया दिएको छैन । तर, नेता विशेषले पनि यो कदमको विरोध गरेका छन् ।