NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

आन्दोलनले नछोएको सन्तमायाको दैनिकी : नगरी काम पुग्दैन खान साँझ र विहान

काठमाडौं । नेकपाको विभाजित प्रचण्ड–माधव समूहले बुधवार अचानक देशव्यापी रुपमा आम हड्तालको घोषणा गर्‍यो । लामो समयदेखि नेपालीहरूले ‘नेपाल बन्द’ को शब्दै सुन्न छाडिसकेका थिए । नेपाल बन्दबारे कहिलेकाँही समाचार आउँथ्यो । तर, बन्दलाई ‘बन्देज’ लगाउँदै आम मानिसहरू आफ्नो काममा लाग्थे । तर, प्रतिनिधि सभा विघटनपछिको राजनीतिक माहोल तातिएकाले बुधबार घोषणा भएको आम हड्तालले बिहीबार प्रभाव पार्ने देखिएको थियो । बिहीबार बिहानैदेखि सार्वजनिक यातायात कुदेनन् । केही सवारी कुद्ने आँट गर्दा त्यसैमा तोडफोड भयो । अचानक भएको बन्दका कारण सन्तुमाया प्रजापति सुन्धारा (पाटन) बाट आफ्नो नियमित काममा पुल्चोकसम्म हिँडदै जान बाध्य भइन् । करिब १० बजेतिर उनी आफ्नो कामका लागि पुल्चोक आइपुगिन् । अरु बेला सामान्य देखिने पुल्चोक आज सामान्य थिएन् । न गाडी कुदेका थिए, न अरु बेला जस्तो भिड नै थियो । तर, त्यत्तिकैमा उनले देखिन् कुनै महंगो गाडीबाट सुरक्षाकर्मीसँगै एक मानिस ओर्लिएको । ‘म घरबाट काम गर्न हिँडदै आएँ,’ उनले बिहीबार दिउँसो बिहानको घटना सम्झिदैं भनिन्, ‘यहाँ नेताहरूको भेला रहेछ । प्रहरी ठाउँ–ठाउँमा रोक्दै सोधेको थियो, कहाँ किन जाने भनेर । परिचयपत्र देखाएपछि मात्रै जान दियो ।’ घर नजिकै र काम पनि नजिकै परेकाले आज सन्तुमाया करिब २० मिनेटमा पुल्चोक आइपुगेकी थिइन् । खुट्टामा समस्या भएकाले अरु बेला टेम्पोमा आउँथिन उनी । तर आज टेम्पो चढ्ने अवस्था थिएन । उनी पुल्चोकको लबिम मल छेउछाउका बगैंचामा आफ्नो कुटो कोदालो चलाउन थालिन् । नजिकै के, को र कसको भेला भइरहेको थियो, उनलाई थाहा थिएन् । ‘सुरुमा त मलाई थाहा थिएन् के हो को हो भनेर,’ उनले भनिन्, ‘प्रहरीले भनेको खै एमाले कि नेकपाको आन्दोलन रे !’ सन्तुमायाकै आँखा अगाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ल्याडक्रुजरबाट ओर्लिए ।उनी वरिपरीबाट सुरक्षाकर्मीले घेरिएका थिए । गाडीबाट ओर्लेर उनी पुल्चोकको बीच सडकमा चिउरा र पानी बोकी पलेटी कसेर बसे । पुल्चोकमा उनीसँगै थिए शीर्ष नेता माधव कुमार नेपाल, पम्फा भुषाललगायत । तर, सन्तुमायालाई प्रचण्डको आतेजानेले कुनै असर गरेन् । किनभने त्यहाँ पुगेर ज्याला गर्नु उनको रहर होइन, बाध्यता हो । पाटनस्थित सुन्धाराकी बासिन्दा प्रजापति भन्छिन्, ‘दैनिकी गुजार्नै पर्‍यो । काम नगरी सुखै छैन ।’ ‘तपाईंले यहाँ को आएको चिन्नुभयो त ?’ दिउँसो दुई बजे भेट्दा उनलाई हामीले प्रश्न गरेका थियौं । ‘खै प्रचण्ड कि के भन्ने आएका रे । मैले त चिन्दा पनि चिन्थिनँ । यहाँ प्रहरीले भनेको सुनेर थाहा पाएको ।’ उनले जवाफ दिइन् । जो आएपनि हामीलाई के मतलबको भावमा उनले उत्तर दिइन् । ५४ वर्षीया सन्तुमाया पाटनकै रैथाने हुन् । काठमाडौं महानगरअन्तर्गत ज्याला गर्ने प्रजापतिलाई विहान १० बजे महानगरमा हाजिर गरिसक्नुपर्छ । १० बजे भन्दा एक मिनेट पनि तलमाथि भएमा हाजिर हुँदैन । हाजिर नहुनुको मतलव एक मिनेट पनि ढिला भए त्यो दिन ज्याला गरेको पैसा पाइन्न । त्यसो त लकडाउनका बेलामा कार्यालय बन्द थियो । काम गरेपनि कार्यालय बन्द भएकाले हाजिरी नहुँदा १५ दिनसम्म काम गरेको पैसा नै पाइनन् उनले । गोडमेल गरेबापत् दिनको ६ सय रुपैयाँ कमाउँछिन् उनी । आज विहान पनि उनी हतार हतार १० बजे कार्यालय पुगिन् । हाजिर गरिन् र काममा लागिन् । फूल गोड्ने क्रममा उनी पाटन लगायत काठमाडौं वरपर पुग्छिन् । आज उनको ड्युटी पुलचोकमा परेको थियो । सोही ठाउँमा, जहाँ आज शीर्ष नेता पुगेर सभा गरे । सुरुमा केही हुन्छ कि, भन्ने डर थियो उनको मनमा । तर त्यो डरले उनी एक दिनको कमाई गुमाउन चाहन्नथिन् । शीर्ष नेता नै पुगेर आन्दोलन गरेपनि उनलाई त्यहाँ किन आन्दोलन भयो भन्नेबारे जानकारी छैन । ‘खासमा यो केको आन्दोलन हो ?’ उनले भनिन् । प्रश्नले उनको अनविज्ञता छर्लंगै हुन्थ्यो । विहानै आफ्नो भाषणमा नेता प्रचण्डले भनेका थिए, ‘यो आन्दोलन जनताका लागि हो ।’ हामीले प्रजापतिलाई सोध्यौं, ‘प्रचण्डको यो अभिव्यक्तिबारे तपाईंलाई के लाग्छ ?’ उनी मुस्कुराइन् मात्र । केही फरक नपर्ने भावमा । प्रजापतिको टाउकोमा १० लाखको ऋण छ । भूकम्पले घर भत्काएपछि घर बनाउँदा लागेको ऋण । हुन त परिवारमा छोराछोरी पनि छन् । सबै आ–आफ्नै काममा व्यस्त छन् । ऋण चुक्ता गर्न लागीपरेका छन् । घर बस्नु भन्दा दैनिक ज्याला गरे आफ्नो भएपनि खर्च टर्ने हेतुले उनी काम गरिरहेकी छिन् । एक वर्षसम्म त कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्पै भयो । उनीजस्तै दैनिक ज्याला मजदूर गर्नेहरू सडकमा आए । त्यतिबेला राज्य कहाँ थियो उनीहरूका लागि ? एनजिओ आइएनजिओ कहाँ थिए ? फेरि सुरु भएको बन्द हड्तालले सन्तुमायाजस्ता आम नागरिकको जीवनमा पार्ने प्रभावको लेखाजोखा राज्यसँग सायदै छ ।