आज ओली समूहले शक्ति प्रदर्शन गर्ने, ३ लाख कार्यकर्ता उतार्ने दाबी

काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को ओली समूहले शक्ति प्रदर्शन गर्ने भएको छ । तीन लाख कार्यकर्ता सडकमा उतार्ने दाबी गर्दै सो समूहले नारायणहिटी अगाडि प्रदर्शनसहित आमसभा गर्ने दाबी गरेको हो । सभालाई प्रधानमन्त्री केपी शर्मा ओली र अन्य शिर्ष नेताहरूले पनि सम्बोधन गर्ने जनाइएको छ । माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत काठमाडौंका १३ स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ । उक्त प्रदर्शनसहित नारायणहिटी पुगेर आम सभा हुने जनाइएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । यस्तै प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु र नेपाल खेलकूद महासङ्घलेस्वयम्सेवक परिचालन गर्ने जनाइएको छ । जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आ-आफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ । प्रदर्शनको प्रचारका लागि बिहिबार नेता महेश बस्नेतको अगुवाईमा युवा संघले काठमाडौंमा मार्चपास पनि गरेको थियो । सभाकै तयारीको लागि गत माघ २१ मा मोटरसाइकल -याली पनि गरिएको थियो । गत पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ । दुवै समयले प्रदर्शन जारी गर्दै आएका छन् । त्यसमा पनि पछिल्लो समय संसदिय सुनुवाई बिना नै राष्ट्रपति कार्यालयले संवैधानिक आयोगमा नियुक्ति गरेपछि बिहिबार प्रचण्ड–नेपाल समूहले आम हड्ताल नै गरेको थियो । संसद नब्यूँतिए सो समूहले फागुनबाट संयुक्त जनआन्दोलन गर्नेसमेत जनाएको छ ।
प्रतिक्रिया