NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण

रुकुम । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा १२ हजार स्याउका बिरुवा वितरण गरेको हो । स्याउ उत्पादन राम्रो हुने पुथाउत्तरगङ्गा गाउँपालिकामा कृषकले पनि आफ्नै लगानीमा बिरुवा लगाइरहेको छन् । कृषकलाई व्यावसायिक बन्न थप मद्दत मिलोस् भन्ने हेतुले अनुदानमा बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका–६ मा मात्रै छ हजार स्याउका बिरुवा वितरण गरेको छ । त्यहाँ एक स्थानीय तह एक उत्पादन कार्यक्रमसमेत लागू भएको छ । बाँकी छ हजार बिरुवा भने कृषकको मागका आधारमा वितरण गरेको गाउँपालिकाका कृषि प्राविधिक सन्तोष ओलीले जानकारी दिए । उनीहरुलाई रेड, गोल्डेन र रोयल डेलिसियस जातको स्याउका बिरुवा वितरण गरिएको कृषि प्राविधिक ओलीले बताए । यस्तै कृषककै मागका आधारमा गाउँपालिकाले इटालीबाट पनि स्याउका बिरुवा मगाएको छ । गाउँपालिकाले अनुदानमा स्याउका बिरुवा उपलब्ध गराएपछि खुशी भएका कृषक भने स्याउका बिरुवा सुकेर जाने हुन कि भन्ने पिरमा छन् । आकासेपानीको भरमा गरिने यहाँको खेती प्रणालीमा लामो समयदेखि पानी नपरेपछि कृषक समस्यामा परेका छन् । स्याउको बिरुवा रोप्नका लागि खाल्डो खनिसकेका कृषक पानी नपरेपछि बिरुवा रोप्ने की नरोप्ने भन्ने दोधारमा परेको गाउँपालिका–१ का कृषक लक्ष्मीप्रसाद पुनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष