NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

विप्लव समूहसँग सरकारको संवाद सकारात्मक, औपचारिक चिठी पठाउने तयारी

काठमाडौँ । सरकारले प्रतिवन्धित विप्लव समूहवीचको अनौपचारिक संवाद सकारात्मक बनेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले विप्लव समूहलाई वार्तामा ल्याउन त्यसअघि अनौपचारिक संवाद अघि बढाइएको जनाएको छ । त्यो संवाद सकारात्मक बन्दै गएको उनले दावी हो । सरकारी प्रतिनिधीले विप्लव समूहसँग चाँडै वार्तामा बस्न सकिने खबर प्रधानमन्त्री निवास बालुवाटार पठाइसकेको छ । स्रोतका अनुसार विप्लव समूहसँगको संवादका लागि ओली समूहका नेता बुटवल पुगेका थिए । त्यही आसपासको क्षेत्रमा सरकारी प्रतिनिधी र विप्लवका प्रतिनिधीवीच भेट भएको स्रोतको दावी छ । नेकपाभित्र ओली र प्रचण्डवीचको दुरी बढ्दै जाँदा प्रधानमन्त्री ओली विप्लव समूहलाई फकाउने मनस्थितीमा छन् । पार्टी विभाजनपछि पूर्व जनमुक्ति सेनालाई फकाइरहेका प्रधानमन्त्री ओलीले विप्लव समूहलाई पनि फकाउन शुरु गरेका हुन् । वार्ताबाट विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने भन्दै पछिल्लो सरकारले संवाद बढाएको थियो । एक साताअघि सरकारका खानेपानी मन्त्री मणि थापाले विप्लव नेता हेमन्तप्रकाश वलीलाई भेटेर संवादबाट मुलधारको राजनीतिमा आउन आग्रह गरेका थिए । पछिल्लो समयको संवादमा विप्लव समूहले एक केन्द्रीय सदस्यलाई खटाएको छ । उक्त संवाद सकारात्मक भएपश्चात मात्र शीर्ष नेताहरु वार्तामा बस्न सक्ने विप्लव समूहले जनाएको छ । सरकारका प्रतिनिधीसँग संवादका लागि आएका धर्मेन्द्र वास्तोला बाटोमै प्रकाउ परेपछि विप्लव समूह सरकारप्रति सशंकित बनेको हो । विप्लव समूहले वार्तामा बस्नुपूर्व पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाई गर्नुपर्ने, राज्यका तर्फबाट भइरहेका धरपकड बन्द गरिनुपर्ने र राज्यले औपचारिक रुपमा पत्र पठाउनु पर्ने अडान राखेको छ । औपचारिक पत्र पठाउन सरकारी प्रतिनिधिले सकारात्मक संकेत दिएपनि अहिले नै पक्राउ परेका सम्पूर्ण बन्दीलाई रिहाई गर्न असहमति जनाएको छ । त्यही विषयले वार्ताको मिति निश्चित गर्न अलमल भएको स्रोतको दावी छ । सरकार पक्षले भने वार्ता गर्दै जाने र प्रक्रिया पुर्याएर पक्राउ परेका नेता कार्यकर्ता पनि छोड्दै जान सकिने जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष