NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

पूर्व गृह राज्यमन्त्री कँडेलसँग भारतको एउटा, नेपालको २ वटा नागरिकता

काठमाडौँ । पूर्वगृह राज्यमन्त्री तथा संघीय प्रतिनिधिसभामा नवलपरासी वर्दघाटबाट निर्वाचित निवर्तमान सांसद देवेन्द्रराज कण्डेल नागरिकताको थप विवादमा परेका छन् ।

गृह मन्त्रालयले सचिवस्तरीय निर्णय अनुसार कण्डेलको आधिकारिक नागरिकता छानविन गर्न ८ फागुन ०७६ मा समिति गठन गरेको थियो । उक्त छानविन समितिले उनीसँग दुई वटा नेपाली नागरिकता र भारतीय नागरिकको हैसियतमा प्राप्त गर्ने प्यान कार्ड फेला पारेको छ ।

कण्डेलले ६ भदौ २०३१ र १९ कात्तिक २०३५ को फरक–फरक मितिमा दुई वटा नेपाली नागरिकता लिएको समेत प्रतिवेदनले पुष्टि गरेको छ । गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रतिवेदनले कण्डेलले दोहोरो नागरिकता लिएकोमा कारबाहीको सिफारिस समेत गरेको छ ।

त्यस्तै उनले भारतको नागरिकता लिएको विषयमा थप अनुसन्धानको सिफारिस गरेको छ । प्रारम्भिक अनुसन्धानमा कण्डेलसँग भारतको नागरिकता, राशन कार्ड र मतदाता नामावली रहेको पत्ता लागेको छ । छानविन समितिले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग कण्डेलको भारतीय नागरिकता, राशन कार्ड र मतदाता नामावली सही हुन् की होइनन् भन्ने विवरण माग्नुपर्ने सिफारिस गरेको छ ।

यसअघि यस प्रतिनिधिले कण्डेलसँग भारतीय नागरिकता रहेको समाचार सार्वजनिक गरेपछि गृह मन्त्रालयले उनीमाथि छानविन थालेको थियो । कण्डेलको भारतीय नागरिकको ठेगाना उत्तर प्रदेशको महराजगन्ज जिल्लास्थित ३३ कसाया रोड वेतिया हाता जनपथ–गोरखपुर रहेको छ । यस्तै उनले स्थायी वतन साविक रमपुरवा गाउँ पञ्चायत वडा नं ६, नवलपरासीबाट दुई वटा नेपाली नागरिकता लिएका छन् ।

नेपालमै दुई वटा नागरिकता विवादित छवीका कण्डेलले ६ भदौ २०३१ मा १७ बर्षको उमेरमा वंशजका आधारमा पहिलो पटक नेपाली नागरिकता लिएका थिए । त्यसबेला लिएको उनको नागरिकता प्रमाणपत्र नम्बर २३५० हो । त्यो नागरिकतामा बाबुको नाम पृथ्वीराज कण्डेल छ । पहिलो नागरिकतामा तत्कालीन प्रमुख जिल्ला अधिकारी रामनारायण सिंहले हस्ताक्षर गरेर कण्डेललाई वंशजका आधारमा नेपाली नागरिकता दिएका थिए ।

उनले १९ कात्तक २०३५ मा दोस्रो नागरिकता लिएका छन् । कण्डेलले लिएको दोस्रो नागरिकता प्रमाण पत्र नम्बर १६१०८ हो । उनले नागरिकतामा पनि ठेगाना र बाबुको नाम भने एउटै राखेका छन् । दोस्रो पटक कण्डेललाई तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर बस्नेतले नागरिकता उपलब्ध गराएकाे छानविन समितिको प्रमाणमा देखिन्छ ।

नागरिकता ऐन, २०६३ को दफा १३ बमोजिम कण्डेललाई कारवाही गर्न छानविन समितिले सरकार समक्ष सिफारिस गरेको छ । कण्डेल अहिले पनि भारतको उत्तर प्रदेशस्थित ठूटीबारीमा रहेको आर्य विद्या प्रसार समितिको अध्यक्ष तथा राधा कुमारी इन्टर कलेजका प्रबन्धक छन् । भारतका पनि नागरिक ? छानविन समितिले गृह मन्त्रालयलाई कण्डेलसँग भारतीय नागरिकता रहेको विवरणहरु बुझाएको छ ।

समितिले कण्डेलले भारतीय नागरिकका हैसियतमा प्राप्त गरेको प्यानकार्ड, राशन कार्ड, मतदाता नामावलीमा लगायत उनीसँग भएका विवरणहरु बुझाएको छ । उक्त प्रमाणको आधिकारिकता जाँच गर्न सहयोग गर्न भन्दै छानविन समितिले गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयलाई पत्र समेत पठाएको छ ।

कण्डेलले भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ ए क्याटगोरीबाट प्यान कार्ड लिएका छन् । यो क्याटोगोरीबाट कार्ड प्राप्त गर्नु भारतीय नागरिकको विशेषाधिकार हो । कण्डेलले नेपालवाचसँग भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ ए क्याटगोरीबाट प्यान कार्ड लिएको स्वीकार गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष