धरहरा पुनर्निर्माण : २१ तलाको ढलान सम्पन्न, अब एक तला मात्र बाँकी

काठमाडौँ – ०७२ वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति पुर्याएको धरहराको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। जिआइइटिसी–रमन जेभीले निर्माण गरिरहेको धरहराको २२ तलामध्ये २१ तलाको ढलान सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले ट्वीट गर्दै धरहराको २२ तलामध्ये २१ तलाको ढलान सम्पन्न भएको र अब एक तला मात्र बाँकी रहेको जानकारी दिए। अब बन्ने धरहरा उचाइ करिब ७७ मिटर हुनेछ । अहिले बनिरहेको धरहराको स्वरुप भूकम्प अघिको धरहराको जस्तै भएपनि मोटाइ भने बढी हुनेछ। ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा नजिकै बगैँचा र संग्रहालयसमेत निर्माण भइरहेको छ।यस्तै धरहरा परिसर भित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको छ । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तीव्र गतिमा भइरहेको छ। धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ।
प्रतिक्रिया