डा. शशांक कोइराला भन्छन् : कांग्रेस संयुक्त आन्दोलनमा जानु हुँदैन[भिडियाे]

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशाक कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएका छन् । सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएका हुन् । कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जान नहुने उनको भनाई थियो । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उनले बताए । महामन्त्री कोईरालाले आफ्ना कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल हुने उनले बताए । कार्यक्रममा बोल्दै नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मुल दायित्व भएको बताए । उनले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने अहिलेको आवश्यकता भएको प्रष्ट्याए । अहिले संघीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउन नहुने उनको भनाई थियो । नेता पन्तले वैशाखमा निर्वाचन नहुने भन्दै संविधानको रक्षाको निम्ति सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने धारणा राखे । कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जनताले संसद, संविधान र कानूनको अधीनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भएपनि कानून, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उनको भनाई छ । नेता रिजालले संसद विघटन अघि एकै ठाउँमा बसेका मान्छेहरु अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा कांग्रेस नलाग्ने पनि प्रष्ट्याए ।
प्रतिक्रिया