बैशाख १७ गते ४० जिल्लामा निर्वाचन हुने, बाँकीमा २७ गते

काठमाडौँ । सोमबार सरकारले बैशाखमा हुने भनिएको निर्वाचनलाई थप स्पष्ट पारेको छ । सरकारले दुई चरणको निर्वाचनका लागि पहिलो चरणमा निर्वाचन हुने र दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरु छुट्याएको हो । यसअघि सरकारले बैशाख १७ र २७ गरि दुई चरणमा निर्वाचन गर्ने मिति मात्र घोषणा गरेको थियो । सोमबार भने बैशाख १७ गते हुने पहिला चरणको निर्वाचनमा ४० जिल्लामा मतदान गराउने र बाँकी ३७ जिल्लामा बैशाख २७ गते निर्वाचन गराउने निर्णय गरेको छ । पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा निर्वाचन गराउने मन्त्रिपरिषद्को निर्णय छ । दोस्रो चरणमा प्रदेश नं १, बागमती र कर्णाली प्रदेशको निर्वाचन गराउने सरकारको निर्णय छ । तर निर्वाचनका लागि करिब ७० दिनमात्र बाँकी रहँदा दलहरुले निर्वाचनका लागि खासै तयारी गरेका छैनन् । प्रमुख दलहरु नै आन्दोलनमा रहँदा सरकारले निर्वाचनको तयारी अघि बढाएको हो । नेपालवाचसँग कुरा गर्दै एक मन्त्रीले बैशाखमा निर्वाचन सम्पन्न गराउन सरकार गम्भिरतापूर्वक काम गरिरहेको बताए । पार्टीभित्रको अन्तरसंघर्ष चर्किदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । उनले बैशाख १७ र २७ गते दुई चरणको निर्वाचनको मिति घोषणा गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उसैदिन सदर गरिदिएकी थिइन् ।
प्रतिक्रिया