सात वर्षमा चार पटक म्याद थप्दा पनि बनेन बालाजु–ककनी सडक

काठमाडौं । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुदेखि ककनीसम्मको सडक बन्न सकेको छैन् । लामो समयसम्म सडकखण्ड निर्माण हुननसक्दा यात्रुहरु समस्यामा परेको बताएका छन् । अहिले जाडोको मौसम भएकाले कालोपत्र हुन नसक्ने भन्दै सडकखण्डको निर्माणलाई रोकिएको छ । चार पटकसम्म निर्माण अवधी थप गरिएको सडकमा अहिले नाली लगायतका आवश्यक पूर्वाधारहरुको काम भइरहेको छ । सडक निर्माण गर्ने अवधी गत पुसमा नै सकिएको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ । ५५ किलोमिटर लम्बाइको बालाजुदेखि त्रिशूलीसम्मको सडक दुई फरक निर्माण व्यवसायीले निर्माण गरेकाले दुवैतर्फको सडकको प्रगति राम्रो नभएको योजनाका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार यो सडकमा बालाजुदेखि ककनीसम्म एउटा ठेक्का र ककनीदेखि पीपलटारसम्म अर्को ठेक्का रहेको छ । बालाजुदेखि ककनी सडकखण्डमा अहिले नालीको काम भइरहेपनि कालोपत्र नभएकाले सो स्थानमा प्रगति देखिएको प्रजापति बताउँछन् । उनी भन्छन्, ‘पटक पटक म्याद थपे पनि अझै काम सुस्त भएको छ ।’ सो सडक निर्माणका लागि आव २०७०÷७१ मा ठेक्का भएको थियो । सडक निर्माणमा एआइपिएल र सैलुङ कम्पनीलाई ठेक्का दिइएको थियो । निर्माणमा भएका ढिलाइका कारण सडक विभागले ठेक्का रकमको १० प्रतिशत अर्थात् तीन करोड ७० लाख रुपैयाँ हर्जाना लगाउने निर्णय गरेको प्रमुख प्रजापति बताउँछन् । उनका अनुसार त्यसमा दुई करोड सात लाख रुपैयाँ असुल भइसकेको छ भने बाँकी रकम काम सम्पन्न गरेर अरू बिल आएपछि त्यसबाट कटाउने योजना बनाइएको छ । पटकपटक अवधि थप हुँदासमेत निर्माण व्यवसायीको लापरवाहीका कारण सडक अझै सम्पन्न हुन नसकेको हो । यो सडकमा निर्माणस्थल वा निर्माण सामग्रीको समस्या नभए पनि व्यवसायीले ढिलाइ गरेको पाइएको प्रमुख प्रजापति बताउँछन् । उनले भने, ‘एउटै कम्पनीले धेरै ठाउँमा ठेक्का लिने प्रवृत्तिले पनि काम समयमा हुँदैन ।’
प्रतिक्रिया