जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र्याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीपछि खुलेको आन्तरिक उडानमा यतीले तीन एटिआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको थियो । आगामी मार्चदेखि यतीले हाल भएका पाँचवटै एटिआर जहाज उडाउनेछ । थपिएको एटिआरले पनि छिट्टै उडान भर्ने कम्पनीको योजना छ । जहाज थपिएपछि मार्च महिनाबाट पूर्ण क्षमताका साथ आन्तरिक उडान हुने यती एयरलाइन्सका हवाई सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले हाल नौ गन्तव्यमा उडान भर्दै आएको छ । पोखरा–सिमरा उडान गरिने आन्तरिक उडानमा बजार विस्तारको रणनीतिका साथ अघि बढेको यतीले छिट्टै पोखरा–सिमरा उडान गर्ने भएको छ । व्यापारिक तथा पर्यटकीय गन्तव्यमा उडान विस्तारको योजना बनाएको यतीले आवश्यक सम्पूर्ण तयारी गरिसकेको छ । पोखराका पर्यटन व्यवसायी तथा सरोकारवालासँग यतीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहितका पदाधिकारीले यसैसाताभित्र अन्तिम छलफल गरी उडान निर्णय लिइने कम्पनीले जनाएको छ । यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्दै आएको भए पनि कोभिड महामारीका कारण अहिले उडान स्थगित गरिएको छ । उक्त उडान पनि छिट्टै सञ्चालन गरिने जनाइएको छ । यतीले हाल १४ गन्तव्यमा उडान भर्दै आएको छ । कोभिड महामारीकैबीच गत असोज ५ देखि आन्तरिक उडान शुरु भएको थियो । यसअघि भदौ १६ बाटै अन्तर्राष्ट्रिय उडान भएको थियो । रासस
प्रतिक्रिया