NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

अख्तियारले दोषीलाई त्रास र निर्दोषलाई आश देखाएर काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोषीलाई त्रास र निर्दोषलाई आश हुने गरी मुद्दा चलाउन आग्रह गरेका छन् । अख्तियारको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निष्पक्ष भएर काम गर्न अख्यितारलाई यस्तो आग्रह गरेका हुन् । ‘आयोगले दायर गरेका मुद्दाहरु फरक पर्ने गरी दायर गर्नुहँदैन । निर्दोषलाई दोषी भनेर मुद्दा दायर भयो भने असर पर्छ । निर्दोषमाथि मुद्दा लागे काम गर्नेलाई हतोत्साहित बनाउँछ’ ओलीले भने, ‘छानविन गर्नुभन्दा अघि निष्पक्ष भएर काम गर्नुपर्छ । राम्रोसँग विचार गरेर तथ्यका आधारमा एकिन भएपछि मात्रै मुद्दा चलाउनुपर्छ । कुनै पनि हिसाबले आयोग निष्पक्ष हुनुपर्छ । दोषी र अपराधी तर्सिने हुनुपर्छ । त्रास उनीहरुमा पैदा हुनुपर्छ । निर्दोषका निम्ति संरक्षणको थलो हो भन्ने पनि आयोगले देखाउनुपर्छ ।’ देशमा स्वच्छ मान्छे छैनन् सबै भ्रष्ट छन् भन्ने हल्ला फिँजाइदैछ भन्दै उनले केही भ्रष्ट हुँदा सबैलाई मुछ्ने काम भएको बताए । यस्ता भ्रम चिर्न पनि आयोगले निष्पक्ष भएर काम गर्न जरुरी रहेको उनले बताए । कतिपयमा भ्रम छ भन्दै उनले- आयोग लाचार छायाँ पनि होइन । कुनै पनि निकायलाई सरकारले स्वतन्त्र ढंगले काम गर्न दिन्छ । सरकारको तर्फबाट कुनै हस्तक्षेप हुँदैन । संविधान र कानूनलाई शीरमा राखेर देशलाई शीरमा राखेर अगाडि बढे हुन्छ ।’ आयोगले ३० वर्षमा भ्रष्टाचार नियन्त्रणमा सकारात्मक योगदान पुर्याएको उनले बताए । आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राईले अहिलेसम्म आयोगले गरेका कामलाई नै पर्याप्त नमानेको भन्दै भ्रष्टाचार, घुसघोरी, अनियमितता र जिम्मेवारीको दुरुपयोग गर्नेमाथि झन् बढी निगरानी गरेर काम गर्ने बताए । अनियमितता रोक्न र हुनै नदिन आयोगले सशक्त अनुसन्धानकर्ता र अनुसन्धान टोली बनाउने पनि राईले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष