सामाजिक संजालमा मत रोक्न खोज्नु अधिनायकवाद : कांग्रेस

काठमाडौं । कांग्रेसले सामाजिक संजालको व्यवस्थापनको नाममा सरकारले अभिव्यक्ति र स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै सजग बन्न युवा पुस्तालाई विशेष अपील गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गदैृ सूचना प्रविधि विधेयकलाई सरकारले नयाँ स्वरुपमा ब्युँत्याउन खोजेको भन्दै आपत्ति जनाएका हुन् । ‘अन्ततः सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ’ शर्माद्वारा विज्ञप्तिमा उल्लेख छ, ‘सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान छंदैछन् । थप ब्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्न तर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ ।’ कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न नहुने र नपाइने कांग्रेसको भनाई छ । प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै कांग्रेसले सोमबारकोे देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्ने जनाएको छ । ‘सामाजिक संजालमा व्यक्त मतलाई सरकारी आवेगले कारवाहीको दायरामा बाध्ने तयारी अधिनायकवादतर्फको एक अर्को फड्कोको तयारी हो’ विज्ञप्तिमा उल्लेख छ, ‘यस विरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस संजाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गर्दछ ।’
प्रतिक्रिया