नारायणहिटी दरबार संग्रहालयको पर्खालमा ‘राजा ल्याऔं’ पोष्टर

काठमाडौं । राजतन्त्र फालिएसँगै दरबारबाट संग्रहालयको रुप लिएको नारायणहिटी दरबार संग्रालयको पर्खालमा ‘राजा ल्याऔं’ पोष्टर टाँसिएको छ । २९ जेठ २०६५ मा पूर्व राजा ज्ञानेन्द्रले राजदरबार छाडेपछि नारायणहिटीलाई संग्रहालयको रुप दिइएको थियो । अहिले त्यही संग्रहालयको नक्सालपट्टिको पर्खालमा ‘राजा ल्याऔं देश बचाऔं’ भन्दै पोष्टर टाँसिएको हो । पोष्टरमा उल्लेख भएअनुसार बलराम शाहले त्यसलाई टाँसेका हुन् । पोष्टर कहिलेदेखि टाँसिएको भन्ने कुरा उल्लेख गरिएको छैन । आफ्नो ‘परिचय स्वतन्त्र राष्ट्रवादी जनसेवक’ राखेका शाहले पोष्टरमा ‘राजा नआए जनताको विनाश हुने’ उल्लेख गरेका छन् । पोष्टरमा २६ बुँदामा ‘राजा फर्काउनुपर्ने’ र ‘राजा फर्किएपछि मात्रै देश र जनताको विनाश नहुने’ उल्लेख गरिएको छ । पोष्टरमा भनिएको छ, ‘राष्ट्र निर्माता राजसंस्था हो भने संरक्षक राजा हो । राजा विना राष्ट्र निर्माण हुन सक्दैन । राजामा जो राष्ट्रियता हुन्छ, त्यो दुईदिन आउने जाने नेतामा हुनै सक्दैन। राष्ट्रको प्राण राजा हो । राजा सबको साझा हो, नेता एक पार्टीको मात्रै हो ।’ पोष्टर टाँस्ने शाहले आफ्नो सम्पर्क नम्बरसहित राजा फर्काउनुपर्छ भन्ने तर्कहरु पोष्टरमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया