NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

शिक्षण संस्था बन्द गराई भर्चुअल कक्षा चलाउने सरकारको तयारी छ : मन्त्री त्रिपाठी

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम पुनः बढेसँगै सरकारले शिक्षण संस्था बन्द गराई भर्चुअल रुपमा पठनपाठनको तयारी गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले एक कार्यक्रममा कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले शिक्षण संस्था बन्द गराएर भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएका छन् । केही दिनमै बस्न लागेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पढाइमा अवरोध नहुने गरी शिक्षण संस्थालाई भर्चुअल माध्यममा लैजाने निर्णय गर्ने मन्त्री त्रिपाठीले बताए । पछिल्लो समय शिक्षण संस्थाहरु कोरोनाको हटस्पट बन्दै गएकाले सरकारले यस्तो निर्णय गर्ने तयारी गरिरहेको उनको भनाइ छ । कोभिडको बेलायती भेरिएन्ट काठमाडौं र पोखरालगायत ठूला सहरमा फैलिएको र यसलाई रोकथाम गर्नको लागि जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नु जरुरी रहेको समेत उनले बताएका छन् । । केही दिनयता नयाँ प्रजातिको कोरोनाको असर देखिएको र शिक्षण संस्था त्यसबाट सबैभन्दा बढी प्रभावित भएको मन्त्री त्रिपाठीको भनाइ छ । राजनीतिक दलले गर्ने सभा, जुलुसलाई रोक्नको लागि उनले शीर्ष नेताहरुलाई आग्रह गरेको पनि उनले बताए ।