NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

जंगली जनावर आहारा खोज्दै गाउँ पस्न थाले : मन्त्री आले

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जंगल मासिएसँगै आहाराको खोजीमा वन्यजन्तु गाउँ बस्न थालेको बताएका छन् । अठ्ठाइऔं वन्यजन्तु सप्ताहको अवसरमा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चे रसुवामा आज आयोजित कार्यक्रममा मन्त्री आलेले यस्तो बताएका हुन् । वन्यजन्तुका बासस्थान मासेर मानवबस्ती बसाउनेलगायतका काम गर्न थालेका कारण अहिले जंगली जनावरसमेत घर–गाउँ पसेर नोक्सानी गर्ने गरेको उनको भनाइ छ । ‘हामीले जंगली जनावरका बासस्थान मासेर आफूले उपभोग गर्न थाल्यौं, जनावर आहारका लागि गाउँ तथा किसानका खेतीबारीमा पस्न थाले, नोक्सानी हामीलाई नै भयो,’ उनले भने, ‘जनावारका बासस्थानको हानि–नोक्सानी गर्ने तथा मार्नेलाई कसैले पनि माफी दिनु हुँदैन ।’ कार्यममा बोल्दै मन्त्री आलेले वन्यजन्तु संरक्षणका लागि सबै नागरिक एकजुट हुनुपर्ने धारणा समेत राखेका छन् । विश्वको संरक्षित सूचीमा रहेका वन्यजन्तु समेत नेपालका वनमा रहेकाले ती सबै जीवजन्तुको संरक्षणका लागि सबै नागरिक एकजुट हुनुपर्ने उनको आग्रह छ । ‘संरक्षित वन्यजन्तु नेपाल र नेपालीका गहना हुन, यिनीहरुको संरक्षणका लागि हामी सबै एकजुट हुनुपर्छ,’ उनले भने । मन्त्री आलेले पछिल्लो समय वन्यजन्तुका बासस्थान फडानी गरी विनाश गरिनुका साथै वन्यजन्तु ओसार–पसार तथा चोरी शिकार गर्ने क्रम बढेकाले संरक्षित वन्यजन्तु लोप हुने अवस्थामा पुगेकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरे । ‘संरक्षित वन्यजन्तुका कारण हामीले पर्यटक भित्र्याउन सकेका छौं, ती वन्यजन्तु नै नासिए भने कसरी पर्यटक आउन सक्छन्,’ उनले भने, ‘वन्यजन्तुका बासस्थान नाश नगरौ, वन्यजन्तुको सबैले संरक्षण गरौं ।’ मन्त्री आलेले वन्यजन्तु संरक्षण तथा उनीहरुका बासस्थानको जगर्ने र संरक्षणका लागि सरकार गम्भीर रहेको बताउँदै संरक्षित वन्यजन्तुको चोरी शिकार गर्नेलाई अब नागरिकस्तरबाट पनि कारवाहीका लागि पहल हुनुपर्नेमा जोड दिए । मन्त्री आलेले आजै लाङटाङ राष्ट्रिय निकुञ्जले रसुवाको धुञ्चेस्थित पासाङल्हामु राजमार्गमा निर्माण गरेको पर्यटन सूचना केन्द्रको समेत उद्घाटन गरेका छन् ।