NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

काठमाडाैं उपत्यकासहित डेढ दर्जन जिल्लामा निषेधाज्ञा, राजधानीका सडक सुनसान

पूर्ववर्ती निर्णय अनुसार काठमाडाैं उपत्यकामा बिहीबार बिहानदेखि निषेधाज्ञा जारी भएकाे छ। उपत्यकाका तीनवटै जिल्ला (काठमाडाैं, ललितपुर र भक्तपुर) प्रमुख जिल्ला अधिकारीले जारी गरेकाे आदेश अनुसार बिहीबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएकाे हाे। निषेधाज्ञासँगै सुरक्षाकर्मी परिचालन भएका छन् भने सडक सुनसान भएका छन्। यहाँका प्रमुख जिल्ला अधिकारीहरुले २२ वैशाखसम्म निषेधाज्ञा लागू गरेकामा मन्त्रिपरिषदले यसलाई लम्ब्याएर वैशाख मसान्तसम्म कायम गरेकाे छ। काेराेना भाइरस महामारीकाे चेन ब्रेक गर्न भन्दै हालसम्म डेढ दर्जन जिल्लामा निषेधाज्ञा जारी भइसकेकाे छ। पछिल्लाे पटक सबैभन्दा बढी प्रभावित बाँके करिक एक सातादेखि लकडाउनमा छ। निषेधाज्ञा जारी भएका जिल्लामा पूर्ण रूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यकबाहेक सबै सेवा र व्यापारव्यवसाय, सभा, सम्मेलन, तालिम, गोष्ठी र सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना, अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा सञ्चालनमा राेक लगाइएकाे छ। तर, खाद्यान्न, फोहोरमैला, स्वास्थ्य, सञ्चार सहितका अत्यावश्यक सेवाका सवारी, औषधि पसल सञ्चालन हुनेछन् भने खाद्य सामग्री पसलहरू र डिपार्टमेन्ट स्टोरका ग्रोसरी पसलहरू बिहान र साँझ मात्र खुल्नेछन्। सरकारका कर्मचारीहरू एवं वित्तीय तथा अत्यावश्यक सेवाका कर्मचारी, सञ्चारकर्मीहरूको आवतजावत निर्वाध हुनेछ। त्यस्तै अस्पताल जानुपर्ने बिरामी, कुरुवा एवं मृत्यु संस्कारमा अनिवार्य जानुपर्ने एवम् अन्तर्राष्ट्रिय उडानका भिसा र टिकट हुनेहरूले अनुमति लिएर यात्रा गर्न पाउने छन्। बढीमा १५ जना उपस्थित हुने गरी विवाह र व्रतबन्ध जस्ता कार्यहरु भने गर्न पाइने छ। उपत्यका प्रवेश गर्ने व्यक्तिहरू अनिवार्य रूपमा तोकिएका क्वारन्टीनरहोम आइसोलेशनमा बस्नुपर्ने आदेश गरिएको छ।