NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

देशभर ३१७ जना आईसीयूमा, ९८ जना भेन्टिलेटरमा

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर फैलिरहँदा बुधबार देशभर ४ हजार ८९७ जना थप संक्रमित थपिएका थिए । ४ हजार ७७४ जनामा आरटी–पीसीआर पोजेटिभ र एक सय २३ जनामा एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको बुधबारको अध्यावधिक विवरणका अनुसार हाल देशभर ३० हजार २ सय ९ जना सक्रिय संक्रमित छन् । यीमध्ये हालआईसीयूमा ३ सय १७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, देशभरका ४ सय ९५ भेन्टिलेटरमध्ये ९८ वटामा संक्रमितको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । यसबाहेक सक्रिय संक्रमितमध्ये २७ हजार ८ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३ सय ६४ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर आईसीयूमा रहेका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ९६ जना आईसीयूमा छन् । त्यस्तै, ५२ जनालाई उपत्यकाभित्रै भेन्टिलेटरमा राख्नु परेको मन्त्रालयले जनाएको छ । हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा छन् । काठमाडौंमा १० हजार ४४९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, संक्रमितको संख्या उच्च रहेका अन्य जिल्लाहरुमा बाँके (३२९४ जना), ललितपुर (२००५ जना), भक्तपुर (१०५७ जना), रुपन्देही (२१४५) लगायत रहेका छन् ।