NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

सुदूरपश्चिममा अक्सिजन अभाव, एन्टिजेन किट पनि छैन

कोरोना संक्रमित गम्भीर बिरामीका कारण सुदूरपश्चिमका स्वास्थ्य संस्थामा अक्सिजन र स्वास्थ्य सामग्री अभाव हुन थालेको छ । यहाँका अक्सिजन प्लान्टको दैनिक उत्पादन क्षमता २ सय ३५ सिलिन्डर छ, खपत भने सरकारी अस्पतालमै त्योभन्दा बढी हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । सुदूरमा सरकारी अस्पतालका आफ्नै पाँच वटा अक्सिजन प्लान्ट छन् । त्यसबाहेक निजी क्षेत्रका आपूर्तिकर्ताले उपलब्ध गराउँछन् । संक्रमित संख्या बढेसँगै बजारमा पठाइएका सिलिन्डर ‘होल्ड’ हुन थालेको व्यवसायीले बताएका छन् । घरघरमा सिलिन्डर राख्ने क्रम सुरु भएको शंका छ । धनगढीमा दुई, डडेलधुरा अस्पताल, महाकाली अस्पताल र अछामको बयालपाटा अस्पतालमा १-१ वटा अक्सिजन प्लान्ट छन् । दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन क्षमताको सेती प्रादेशिक अस्पतालको प्लान्टबाट हाल दैनिक ५० सिलिन्डर मात्रै उत्पादन भइरहेको सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । ‘कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढेसँगै अक्सिजनको दैनिक खपत एक सय ५० सिलिन्डर पुगेको छ,’ उनले भने, ‘अपुग अक्सिजन बाहिरबाट आपूर्ति गरिरहेका छौं ।’ बाहिरबाट आपूर्ति सहज भएसम्म भने समस्या नहुने उनले बताए । संक्रमितको चाप थपिँदै जाँदा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । एउटै सिलिन्डरको भरमा धेरै बिरामीलाई अक्सिजन दिनुपर्ने बाध्यता आउन लागेको स्वास्थ्यकर्मी बताउँछन् । महाकाली अस्पतालको प्लान्टबाट दिनमा ५-६ सिलिन्डर मात्रै उत्पादन हुने गर्छ । अहिले दिनमा १०-१२ सिलिन्डर अक्सिजन खपत भइरहेको उनले बताए । महाकाली अस्पतालमा अहिले ५५ जना संक्रमितको उपचार भइरहेको छ । बुधबार सीमित संख्यामा किट आएका कारण गड्डाचौकी नाकासँगै महाकाली अस्पताल र विभिन्न पालिकाहरूमा न्यून मात्रामा पठाइएको छ । कान्तिपुर दैनिकमा खबर छ।