NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

सरकारलाई जनमोर्चाको प्रश्न, ‘हाम्रा सांसदलाई किन बन्दी बनाइयो ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेश सांसदलाई सरकारले बन्दी बनाएको आरोप लगाएको छ । अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल हुँदै गर्दा आफ्ना सांसद खिमविक्रम शाहीलाई बेपत्ता पारिएको र अहिले अस्पतालमा बन्दी बनाइएको जनमोर्चाको आरोप छ । एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले बुधबार प्रदेशसभामा भएको गतिविधिलाई अस्वभाविक बताएको छ । यस्तै पहिलो पीसीआर रिपोर्ट नेगेटिभ भएका सांसदको एक्कासी कसरी पोजेटिभ आयो भन्दै सरकारसँग प्रश्न गरेको छ । ‘सबै सांसदहरुको स्वाब जाँच गर्दा खिमविक्रम शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर, अहिले एक्कासी कसरी पोजेटिभ आयो ?’ राजमोले प्रश्न गरेको छ । साथै अस्पतालमा रहेको भनिएका सांसद शाहीसँग आफ्ना नेताहरुलाई भेट्न नदिनुको कारण पनि सोधेको छ । विज्ञप्तिमा अघि भनिएको छ, ‘कोरोना भएर अस्पतालमा राखिएको भनिएको छ । तर, हाम्रा नेता तथा कार्यकर्ता कसैलाई पनि उहाँसँग भेट्न दिइएको छैन । आखिर हाम्रा सांसदलाई किन बन्दी बनाइयो । यसको कारण के हो ?’ साथै राजमोले गण्डकी प्रदेश सरकार विरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको निर्णय यथावत नै रहेको स्पष्ट पनि पारेको छ ।