NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

रुसद्वारा डिसेम्बरसम्म नेपाललाई ८० लाख मात्रा खोप बेच्ने प्रतिबद्धता

काठमाडौं । रुसले नेपाललाई ८० लाख मात्रा कोरोनाविरुद्धको खोप किन्न दिने प्रतिबद्धता जनाएको छ । आगामी डिसेम्बरसम्ममा खोप दिने बताइए पनि मूल्यका बारेमा कुनै सम्झौता भइसकेको छैन । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग बुधबार भेट गर्दै मस्कोबाट आएको उच्चस्तरीय टोलीले खोप बिक्रीबारे प्रतिबद्धता जनाएको हो । रुसले ‘स्पुतनिक-भी’ नामक खोप उत्पादन गरिरहेको छ । रसियाले गत वर्षको अगस्ट ११ मै यो खोपलाई मान्यता दिएपनि यसको प्रभावकारिता र छिटो उत्पादन गरिएको भन्दै विभिन्न आशंका र टिप्पणी गरिएको थियो । खोपको विश्वसनियता कायम राख्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीलाई समेत यो खोप दिन लगाएका थिए । अन्ततः विभिन्न चरणको परीक्षणका आधारमा गरिएको अन्तरिम विश्लेषणअनुसार यसको प्रभावकारिता ९१.६ प्रतिशत पाइएको गत फेब्रुअरी २ मा दाबी गरिएको थियो । उक्त विश्लेषणमा खोपले कुनै पनि असामान्य साइड-इफेक्ट नगर्ने समेत उल्लेख छ । स्पुतनिक-भीको प्रयोग भने गत डिसेम्बरबाटै थालिएको हो । अर्जेन्टिना, बेलारुस, हंगेरी, सर्विया, संयुक्त अरब इमिरेट्सलगायत मुलुकले हाल ठूलो परीमाणमा स्पुतनिक-भी खरिद गरी आफ्ना नागरिकलाई लगाइरहेका छन् । गत फेब्रुअरीमा यो खोपको करौडौं मात्रा खरिदका लागि विश्वव्यापी रुपमा माग आएको रुसले बताएको थियो । नेपालमा पनि औषधि व्यवस्था विभागले वैशाख ७ मा स्पुतनिक-भीलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिइसकेको छ । उक्त खोप नेपालमा आयात गर्न लोमस फर्मास्युटिकल्सले अनुमति पाएको छ । तर सरकारले भने जीटूजी प्रक्रियाबाटै खोप ल्याउने तयारी गरेको छ । जसका लागि सरकारले निर्णय गरी छलफल अघि बढाएको हो । रुसको उच्चस्तरीय प्रतिनिधिहरुसँगको भेटमा मन्त्री त्रिपाठीले ४० लाख मात्रा खोप तत्काल आवश्यक रहेको जनाएका थिए । उनले सहुलियतमा खोप उपलब्ध गराउन र अनुदानमा दिन समेत आग्रह गरेका मन्त्रालयले जनाएको छ । नेपालस्थित रुसी दूतावासले पनि नेपालको आवश्यकताअनुसार रुसले पर्याप्त खोप निर्यात गर्न सक्ने संकेत दिएको स्रोत बताउँछ ।