NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कोरोनाका बिरामीका लागि निःशुल्क एम्बुलेन्स

काठमाडौं । कोरोनाका बिरामीको संख्या अत्यधिक रुपमा बढ्न थालेपछि सामाजिक अभियान्ताहरुले बिरामीलाई अस्पतालसम्म लैजानका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन् । कोरोना महामारी बढ्दै गएको अवस्थामा बिरामीलाई अस्पतालसम्म पुग्न सकस भएको भन्दै सामाजिक अभियान्ताहरुले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका हुन् । शनिबार बिहान उनीहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएका छन् । जसमा सामाजिक अभियान्तासँगै ओम समाज डेन्टल अस्पिटलले पनि आफ्नो तर्फबाट कोभिडका बिरामीका लागि निःशुल्क ऐम्बुलेन्सको व्यवस्था गरेको छ । ‘विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ को महामारी नेपालमासमेत फैलिएको र काठमाडौँ उपत्यकामा समेत संक्रमण तिव्र रुपमा बढेर आम बिरामीहरुलाई असहज भएको मध्य नजर गर्दै ओम समाज डेन्टल हस्पिटल, समाजसेवाी र अभियान्ताहरुले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं’ जारी विज्ञप्तिमा भनिएको छ । उक्त अभियानमा ओम समाज डेन्टल हस्पिटलका साथै, विराज समाज, क्याप्टेन विजय लामा, पूर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल, कर्ण बहादुर शाही , डा.सुभास घिमिरे, अधिवक्ता संजय राज अधिकारी, पर्यटन व्यवसायी तथा पर्यटन यातायात महासंघका अध्यक्ष रामहरि शर्मा, भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाही, कलाकार निखिल उप्रेती, केदार घिमिरे, देवेन्द्र प्रधान लगायत छन् । उनीहरुको सहयोगमा निःशुल्क प्राथमिक र आकस्मिक स्वास्थ्य सेवा, मुख तथा दन्त सेवा र २४ घण्टा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको जनाएका छन् । उक्त अभियानका क्रममा रकम अभावका कारण उपचार नपाएका, अलपत्र, एम्बुलेन्स नपाउँदा अस्पतालसम्म पुग्न नपाएका बिरामीका लागि पूर्ण रुपपमा सहयोग गरिने बताइएको छ । यस्तै बिरामीले आफूले चाहेको अस्पताल नै छनोट गर्न पाउने र त्यहाँ आकस्मिक उपचारका क्रममा अप्ठ्यारो परेमा सहयोगसहित एम्बुलेन्सको व्यवस्था गरिएको भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीले जनाकारी दिए । यस्तै, डा. सुवास घिमिरेले अहिलेको अवस्थामा सुरक्षित रहनका लागि सामाजिक दूरी कायम गर्दै स्वास्थ्य प्रोटोकल लागू गर्नु नै उत्तम उपाय भएको बताए ।