NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

डिउटीमा रहेका फ्रन्टलाईनरलाई आत्मबल बढाउन प्रजिअ सडकमा

सुर्खेत । दोस्रो लहरको कोरोना संक्रमणले सबैतिर आक्रान्त बनाएको छ । जिल्ला प्रशासनले एक सातादेखि सुर्खेतमा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन् । पछिल्लो समय फ्रन्टलाइनरनै संक्रमित हुन थालेपछि कोरोना नियन्त्रणमा थप संकट आइलागेको छ । सुरक्षाकर्मीहरु पनि दैनिक १४ देखि १६ घण्टासम्म ड्युटीमा खटिएका छन् । तर व्यक्तिगत सुरक्षा साधन पाउन उनीहरुलाई नै मुश्किल भईरहेको छ । फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोवल बढाइराख्न सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवीलाल रिजाल स्वंयम अनुगमनमा खटिएका छन् । फ्रन्टलाइनमा खटिएका सुरक्षा कर्मी तथा स्वास्थ्य कर्मीहरुका गुनासा सुखेर हौसला दिईरहेका छन् । समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गर्छन् साथमा सुरक्षाका सामाग्रीहरु पनि बाँड्छन् । ‘डिउटीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरु संक्रमित हुनेक्रम बढेको छ, अहिलेकै अवस्था रहे आधारभूत शान्ति सुरक्षा दिन पनि मुस्किल हुन्छ,’ प्रजिअ रिजालले भने, ‘सुरक्षाकर्मीको मनोवल उच्च बनाइराख्न र उनीहरुका समस्या र गुनासा सुन्न नाकादेखि शहरमा चोकचोक पुगेर भेट्ने गरेको छु ।’ प्रजिअ रिजालले ड्युटीमा रहेका सुरक्षाकर्मीलाई माक्स, स्यानिटाइजर, ग्लोब्स, साबुन वितरण गर्ने गरेका छन् । सुरक्षाका आधारभूत कुराहरुको पालना गर्न सिकाउँछन् । उनले ड्युटी स्थान नजिकैका घरधनीसँग सुरक्षा कर्मीका लागि शौचालय, पानी लगायतको व्यवस्था गरिदिन आग्रह गर्ने गर्छन् । सुर्खेतमा नेपाल प्रहरीको पाँच सयको हाराहारीमा जनशक्ति छ । निषेधाज्ञाका कारण थप ड्युटी खटाउनुपर्ने भएकाले एक जना सुरक्षाकर्मीले दिनमा दुई पटक गरेर १४ देखि १६ घण्टासम्म ड्युटी गर्नुपर्छ । ड्युटीमा खटिएका सुरक्षाकर्मीले खाजा र पानी समेत पाउने अवस्था छैन् ।निषेधाज्ञा पालना गराउन चर्को गर्मीमा सडकमा खटिएका सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको प्रजिअ रिजालको भनाई छ । उनले कर्णाली प्रदेशमा प्रवेश गर्ने मुख्य नाका बबईमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी थप्नुपर्ने आवश्यकता देखिएको बताए । ‘एक जना स्वास्थ्यकर्मी र १० जना सुरक्षाकर्मीले पूरै नाका धान्नुपर्ने अवस्था छ,, त्यसको समस्या समाधानका लागि आवश्यक समन्वय गरिरहेको छु’ बबई पुगेर फर्केपछि प्रजिअ रिजालले बताए । ‘महामारीमा सबै बाँच्नुपर्छ, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम सल्लाह दिन्छु,’ उनले भने । प्रजिअ रिजालले पूर्वी सुर्खेतमा भेरीगंगा र गुर्भाकोट नगरपालिकामा कोभिड अस्पताल र आईसोलेशन वार्ड तत्काल सञ्चालनमा ल्याउन जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन् ।