NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

मकवानपुरमा आइतबार मध्यरातबाट निषेधाज्ञा, खाद्यान्न पसल बिहान नौ बजेसम्म मात्र खुल्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतरबार मध्यरातदेखि लागु हुने गरी जिल्लामा निषेधाज्ञा जारी गरेको छ । वैशाख ३१ गते मध्यरातसम्मका लागि जारी निषेधाज्ञामा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । ‘औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न नजिकका पायक पर्ने स्थानमा जानबाहेक अन्य अनावश्यक काम हिँड्डुल गर्न नपाउने व्यवस्था गरिएको,’ जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । शनिबार जिल्ला संकट व्यवस्थापन केन्द्रको प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले जनभावना अनुसार नै निषेधज्ञा लागु गरेको प्रमुख जिल्ला अधिकारी रतमणि पाण्डेले जानकारी दिए । बैठकले अत्यावश्यक उपभोग्य वस्तु, खाद्यान्न पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी बिक्रीवितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको छ । यस्तै औषधि पसल, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिन्डर पसल, सवारीसाधन मर्मत गर्ने तोकिएका वर्कशप नियमित सञ्चालन गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताए । बैठकले जिल्लामा एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधनबाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यस्तै शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधनबाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । बैंक, वित्तीयसंस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भीडभाड नहुने गरी आलोपालो विधिबाट बिहान ९ देखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय बैठकले गरेको प्रजिअ पाण्डेले जानकारी दिए ।