NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

आन्तरिकसहित अमेरिकालगायत दश मुलुकको सिधा उडान रोक्ने सरकारी तयारी

काठमाडौं । कोभिड संकट व्यवस्थापन कार्यादल (सीसीएमसी) को बैठकले कोरोना भाइरसबाट अति प्रभावित दश मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडानसमेत बन्द गर्न सरकारलाई सिफरिस गरेको हो । कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायतलगायत दश मुलुकबाट हुने सिधा उडानमा रोक लगाउन सरकारलाई सिफारिस गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले बताए । मन्त्री ढकालका अनुसार ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागु हुनेछैन । ‘परिस्थिति भयावह बन्दै गएकाले आन्तरिक उडान पनि बन्द गरौं भन्ने सिफरिस भएको छ,’ मन्त्री ढकालले भने । सीसीएमसीले गरेका सिफारिसमाथि मन्त्रिपरिषद्को अब बस्ने बैठकले छलफल गरी निर्णय निकाल्नेछ । भाइरसबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुले दिँदै आएका छन् । शुक्रबारको बैठकले भारतसँगका २२ नाका बन्द गर्न पनि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।