NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

‘शुक्रबारसम्म देशभर आवश्यक अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्नू’

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर तिव्र बनिरहेको छ । अस्पातालमा शय्या अभाव मात्रै होइन अक्सिजन अभावले संक्रमितको मृत्यु भएका खबर बाहिर आइरहेका छन् । यस्तोमा सरकार भने बल्ल अस्पतालहरुलाई आवश्यक अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारणमा लागेको छ। बुधबार मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठकले गरेको सिफारिसको आधारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक बसेको थियो । बैठकले आवश्यक परेको अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । उक्त संख्याको आधारमा अक्सिजन आपूर्तिको व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । स्वास्थ्य मन्त्रालयलाई अस्पतालहरुको क्षमता, बिरामी संख्या, उपचारको प्रकृति, आईसीयू शय्या र भौगोलिक सन्तुलनका आधारमा मापदण्ड बनाई वैशाख २४ भित्र ती अस्पतालहरुलाई आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्न निर्देश गरिएको छ । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार अक्सिजन आपूर्ति गर्न अक्सिजन उद्योग र अस्पतालबीच सम्बन्ध स्थापित गर्ने, आवश्यकताअनुसार अस्पतालहरुलाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिइएको छ । कार्ययोजनाअनुसार अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट आवश्यक मर्मतसम्भार गरी वैशाख २४ भित्र सञ्चालनमा ल्याउन सम्बन्धित अस्पताललाई नै जिम्मेवारी दिइएको छ । यो काममा स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयलाई सहयोगीको रुपमा रहनेछन् । सरकारी अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट मर्मतसम्भारका लागि आवश्यकताअनुसार स्रोत उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई भनिएको छ । आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर ‘होल्ड’ गरिएको पाइए त्यसलाई जफत गरिने भएको छ । अस्पताल, व्यक्ति वा अन्य संघसंस्थाले अनावश्यक रुपमा होल्ड गरेको पाइए सिलिण्डर नियन्त्रणमा लिई स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार कोभिड अस्पतालहरुमा उपलब्ध गराउन पनि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । यसका लागि सीसीएमसीसँग समन्वय गरी उद्योग र गृह मन्त्रालयलाई आजसम्मको मात्रै समयसीमा दिइएको छ । देशभरका अक्सिजन उद्योगहरुको अनुगमन गरी वैशाख २३ भित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि उद्योग मन्त्रालयलाई भनिएको छ । अक्सिजन उद्योगहरुमा विद्युत र खानेपानीको निरन्तर आपूर्ति गर्न सिँचाइ, ऊर्जा तथा जलस्रोत र खानेपानी मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ । उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डर सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । जसका लागि वैशाख २४ को समयसीमा तोकिएको छ । परराष्ट्र मन्त्रालयलाई भारतबाट लिक्विड अक्सिजन आयातका लागि तत्काल कूटनीतिक पहल थाल्न पनि निर्देशन दिइएको छ । चीन सरकारबाट अनुदानमा प्राप्त हुने २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट ल्याउन वैशाख ३१ सम्म ढुवानीलगायतको तयारी गर्न अर्थ र परराष्ट्र मन्त्रालयलाई भनिएको छ । यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्ढयन मन्त्रालय सहयोगीको रुपमा रहनेछ । यस्तो छ विस्तृत कार्ययोजना :