NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

ढोरपाटनमा ९ नाउर र ४ झारलको शिकार

बागलुङ । चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा ९ नाउर र ४ झारलको शिकार भएको छ । विदेशी शिकारीले आरक्षका विभिन्न ‘ब्लक’ मा पुगेर शिकार गरेका हुन् । शिकारको दोस्रो यामका लागि शिकारीले ९ नाउर र ५ झारल शिकारको अनुमति पाएका थिए । तीमध्ये १ झारलको शिकार हुन नसकेको हो । दोस्रो यामको शिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाख रुपैयाँसम्म तोकिएको थियो । पहिलो शिकार याम असोज–कात्तिकमा ९ नाउर र ५ झारलको शिकार अनुमति दिइएको भए पनि कोरोना महामारीका कारण शिकार हुन सकेको थिएन । चालु वर्षको दोस्रो याममा भने लक्ष्यको नजिक शिकार भएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको छ । शिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आउटफिटर्स प्रालि, ग्लोबल सफारिज प्रालि र हिमालयन सफारिज काठमाडौंमार्फत शिकारी ढोरपाटन पुगेका थिए । बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत कँडेलले बताए । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुचाउने गरेको उनको भनाइ छ । विदेशी शिकारीसहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ । दोस्रो याममा अमेरिका, रुस, फ्रान्स, युक्रेन र स्पेनका पेशेवर शिकारीले शिकार गरेका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । शिकारको दर बढ्दा वार्षिक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । विभागले २०७७ चैत १० गते शिकार अनुज्ञापत्र प्रदान गरेको थियो । (रासस)