NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एमालेले राष्ट्रिय सभा उपनिर्वाचनमा जीत सुनिश्चित हुने गरी मतदातासँग छलफल गर्ने

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले राष्ट्रिय सभा उपनिर्वाचनमा आफ्नो उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा वाग्मती र लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त १/१ पदको लागि हुने उपनिर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल अघि बढाइने निर्णय गरेको हो । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्वाचनको तयारीका सम्बन्धमा स्थायी कमिटी सदस्यले विभिन्न सुझाव दिएका र उम्मेदवारका बारेमा छिट्टै निर्णय गरिने जानकारी दिए । वाग्मतीमा आगामी जेठ ६ मा र लुम्बिनीमा जेठ १७ मा हुनेगरी राष्ट्रिय सभाको उपनिर्वाचनको मिति तोकिएको छ । वाग्मतीका लागि एमालेले यसअघि नै गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेदवार घोषणा गरिसकेको छ । राष्ट्रिय सभा उपनिर्वाचनका लागि विपक्षी गठबन्धनले भने उम्मेदवार तय गरिसकेका छन् । वाग्मतीमा गृहमन्त्री थापाको ठाउँमा रिक्त रहेको पदमा खिमलाल देवकोटा र लुम्बिनीमा चन्द्रबहादुर खड्काको ठाउँमा दीर्घनारायण पाण्डेलाई विपक्षी गठबन्धनले उम्मेदवार बनाउने भएका छन् । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको खनाल-नेपाल पक्षसमेत सामेल छ ।