NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कोरोनाले अघिल्लोपटक संक्रमण भएका र दोस्रो ‘डोज’ लगाएकालाई पनि छाडेन

काठमाडौं । नेपाल न्यूज एजेन्सी सञ्चालन गरिरहेका सञ्चारकर्मी सविन धमलालाई अघिल्लोपटक गत मंसिरमा कोरोना संक्रमण भएको थियो । कोरोनाको लहर ओरालो लाग्यो भन्ने भइरहेका बेला धमला संक्रमणको मारमा परेका थिए । त्यसबेला उनले घरमै ‘आइसोलेशन’ मा बसेर कोरोना संक्रमणलाई परास्त गरे । यसपटक कोरोनाको दोस्रो लहर फैलिन थालेपछि धमलाकै शब्दमा उनी अघिल्लो पटकभन्दा थप सचेत भएका थिए । भीडभाडका समाचारहरु उत्पादन बन्द गरिसकेका थिए । एकदमै सुरक्षित भएर समाचार उत्पादन गर्न थालेका थिए । तर, उनको एजेन्सीमै कार्यरत एक जनामा लक्षण देखिएर स्वाब परीक्षण गराउँदा पोजेटिभ पुष्टि भयो । यसपछि धमलाले अस्ति २२ बैशाखमा स्वाब परीक्षणका लागि दिएका थिए । उनमा हिजो कोरोना पोजेटिभ भएको रिपोर्ट आयो । यसबेला धमला अघिल्लो पटककै झैं ‘होम आइसोलेशन’ मा बसेका छन् । मलाई लक्षण केही पनि थिएन । तर, पनि स्वाव परीक्षण गराउँदा पोजेटिभ आयो । त्यसैले अहिले घरमै सुरक्षित भएर बसेको छु । अघिल्लो पटक शरीर दुखेको थिएन’, धमला भन्छन्, ‘यो पटक शरीर दुखेको हो कि जस्तो भएको छ । १०–११ वर्षदेखि मेरो टाउको दुख्दैनन्थ्यो । अहिले टाउको अलिअलि दुखेको छ । तर, असैह्य हुने गरी दुखेको छैन । अघिल्लोपटक जस्तै स्वाद हराएको छ । ज्वरो चाहिँ छैन् ।’ धमलाका अनुसार दुई–दुई घण्टामा पल्स अक्सिमिटरले जाँच गरिरहेका छन् । अक्सिजनको मात्रा ठिक छ । उनका अनु्भवमा कोरोना संक्रमणबाट बच्न आफू मात्र सुरक्षित भएर नहुने रहेछ । दोस्रो पक्ष पनि उत्तिकै सावधान हुनु पर्ने रहेछ । अघिल्लो पटकको संक्रमणको मारबाट थिलोथिलो भएकाहरु यसपटक लक्षण भए पनि परीक्षण नै नगराई पचाएर काममा आउने गरेका छन् । जागिर गुम्ने, भोकै रहने चिन्ताले काममा खटिरहेका छन् । त्यसैले संक्रमणको दर भयावह बनेको धमला बताउँछन् । अनलाइन पोर्टल क्लिकमाण्डुडटकमका अध्यक्ष पुष्प दुलालले कोरोना विरुद्धको खोपमा दुवै ‘डोज’ लगाइसकेका थिए । तर, पनि उनी कोरोना संक्रमणको घानबाट जोगिन सकेनन् । खोपको दोस्रो डोज लगाएमो मात्र चार दिनपछि दुलालमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनलाई कोरोना पोजेटिभ पुष्टि भएको आज २३ बैशाखमा ११ दिन भयो । निवासमै आइसोलेशनमा बसिररहेका दुलाल भन्छन्, ‘हिजो दशौं दिनसम्म मलाई ग्राहो बनाएको थियो । आज ११ औं दिनबाट केही सहज भएको छ । हिजो अस्ति स्वाद केही थिएन । आजबाट स्वाद फर्किएको छ ।’ ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा कोरोना संक्रमणविरुद्ध ‘फ्रन्ट लाइन’ मा खटिरहेका डाक्टर महेन्द्र पुडासैनी, जो आफू र श्रीमतीसहित कोरोना संक्रमित भएर ९ दिनदेखि होम आइसोलेशनमा छन् । उनका अनुसार अघिल्लोपटक संक्रमित भएर यसपटक पनि पोजेटिभ पुष्टि भएका दुई जना उनको सम्पर्कमा आएका छन् । डा. पुडासैनीका अनुसार ति दुई जनामध्ये एक जनालाई गत भदौ र अर्कोलाई असोजमा कोरोना संक्रमण भएको थियो । अघिल्लोपटक उनीहरु अस्पताल नै भर्ना भएका थिए । तर, यस पटक भने फोनबाट सुझाव लिएर होम आइसोलेशनमै बसेका छन् । उनीहरुले आफूलाई अघिल्लो पटकको जस्तो ग्राहो नभएको बताएका डा. पुडासैनीको भनाइ छ । पुडासैनीका शब्दमा अहिले कोरोना विस्तारको गति पहिलाभन्दा धेरै त छ नै, अघिल्लो पटकको भन्दा निकै कडा पनि छ । अधिकाशंलाई निमोनियामा नै पुर्‍याईदिएको छ । संक्रमितको दर ४० देखि ५० प्रतिशत पुगिरहेको उनी बताउँछन् । भन्छन्, ‘स्वाब परीक्षण गरिएमध्ये ४० देखि ५० प्रतिशतको नतिजा पोजेटिभ नै आएको छ ।’ डा. पुडासैनीका भनाइमा सिद्धान्तत: पहिलोपटक संक्रमित हुँदा शरीरभित्र प्रतिरोधात्मक क्षमता बनेको हुन्छ । जसलाई चिकित्सकिय भाषामा ‘एन्टीबडी’ भनिन्छ । कोरोना संक्रमणविरुद्धको त्यो एण्टीबडी अहिले पनि शरीरभित्र रहिरहेकाले दोस्रो पटक संक्रमण भए पनि जटिलतामा जाने संभावना न्यून हुन्छ । कोरोना संक्रमणको गति रोक्न दुई मिटर वा ६ फिटको दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धोइरहने वा सेनिटाइजर लगाउने बाहेक विकल्प नभएको डा. पुडासैनी बताउँछन् । अन्तराष्ट्रियस्तरमा देखिएको ‘‘ट्रेण्ड’’ हेर्दा कोरोना संक्रमण भएको व्यक्तिलाई तीन महिनासम्म पुन: हुने संभावना एकदमै न्यून छ । ३ देखि ६ महिनासम्म पनि एक हदसम्म कम नै छ । ६ महिना पछि भने एकपटक पनि नभएको व्यक्ति बराबर नै जोखिम रहने वैज्ञानिकहरुले बताएका छन् । पाटन अस्पतालमा कोरोना संक्रमितको उपचारमै अहोरात्र परिचालित भइरहेका डाक्टर यज्ञ पोखरेलका अनुसार अघिल्लो पटक पनि, यस पटक पनि कोरोना संक्रमणको चपेटामा परेको भन्दै आउने संक्रमितहरु छन् । तर, त्यो संख्या खासै ठूलो छैन । आजै मात्रै पनि ‘पोहोर पनि भयो । अहिले पनि भयो’ भन्दै एक जना संक्रमित आएकामा उनको नाम चाहिँ आफूलाई ठ्याक्कै याद नभएको डा. पोखरेल बताउँछन् । अघिल्लो पटक संक्रमण भएकाहरु यस पटक गम्भीर चाहिँ छैनन् । खोप लगाए पनि बेला–बेलामा हात धोइरहने, सेनिटाइजर, मास्क लगाएर सावधान हुनेहरु संक्रमणको चपेटामा परे पनि उनीहरु गम्भीर अवस्थामा छैनन् । तर, खोप लगाएपनि सावधानी नअपनाउने, बिहाभोजमा सहभागी भएकाहरुको अवस्था गम्भीर छ । दोस्रो पटक कोरोना संक्रमित पत्रकार सविन धमला भन्छन्, ‘कोरोना संक्रमणबाट बच्न आफू मात्र सुरक्षित भएर नहुने रहेछ । दोस्रो पक्ष पनि उत्तिकै सावधान हुनुपर्ने रहेछ ।अघिल्लो पटकको संक्रमणको मारबाट थिलोथिलो भएकाहरु यसपटक लक्षण भए पनि परीक्षण नै नगराई पचाएर काममा आउने गरेका छन् । जागिर गुम्ने, भोकै रहने चिन्ताले काममा खटिरहेका छन् । त्यसैले संक्रमणको दर भयावह बनिरहेको छ ।’ डा. पोखरेलका शब्दमा यसपटक कोरोना संक्रमणको वेभले २५ देखि ४० वर्ष उमेर समूहलाई घातक निशानामा पारेको छ । जब कि अघिल्लो पटक बृद्धबृद्धा त्यो निशानामा परेका थिए । २५ देखि ४० वर्ष उमेर समूह बढी प्रभावित हुनुमा डा. पोखरेल ४ र ५ वटा कारण प्रभावी रहेको अनुमान गर्छन । उनका अनुसार पहिलो कारण ६५ वर्षमाथिका बृद्धबद्धालाई कोरोनाविरुद्धको खोप लगाइयो । दोस्रो, ६० माथिका बृद्धबृद्धा डराएर सुरु देखि नै सावधान भए । घरभित्रै बसे । तेस्रो, २५–४० को उमेर दैनिक काममा खट्ने उमेर समूह हो । काममा जानै पर्‍यो । त्यसैले चाहेर पनि त्यो उमेर समूह सुरक्षित हुन सकेन । डा. पोखरेलका अनुमानमा चौथो कारण कोरोना बुढाबुढीलाई पो लाग्ने हो । अघिल्लो पटक पनि पचाइएकै हो । कोरोनाले केही गर्दैन भनेर २५–४० उमेर समूहले ख्याल–ख्याल गर्यो । अनि पाचौं कारण बिहे भोज आदिमा सहभागी हुने मुख्य उमेर समूह पनि यही हो । विवरण केलाउने हो भने मृत्यु दर पनि ४० वर्ष मुनीकै बढी हुन सक्छ । यसपटक अक्सिजन चाहिने अवस्थामा मात्र बिरामीहरु अस्पताल आएका छन् । अघिल्लो पटक पिपिई, मास्कको अभाव थियो’, डा. पोखरेल भन्छन्, ‘यसपटक अक्सिजनको चरम अभाव छ । बिरामीको चाप कस्तो छ भने अंरिगाल खनिए झैं आउँछन् । सात जनाको इमेरजेन्सीमा हामीले २२ जनासम्म राखेर हेरिरहेका छौं । बिरामीका आफन्त ‘लौ न अलिकति ग्यास दिनुस्, बचाई दिनुस्’ भनेर रुदै आउँछन् । एउटै कनेक्टरबाट जोडेर अक्सिजन बाँडिरहेका छौं । त्यसैले हामी आफैं निरिह छौं ।’ सरकारले अलिकति जनशक्ति थपे पनि त्यो ‘कन्जष्टेड’ भइसकेको डा. पोखरेल बताउँछन् । अघिल्लो पटक संक्रमितहरुलाई अस्पताल, आइसोलेशन सेन्टर ल्याउन स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स पठाउने गरेको थियो । यसि पटक त्यो व्यवस्था पनि छैन । सरकार र राजनीतिक नेताहरुको प्रतिवद्धता कमजोर भएको अवस्था भयावह बनेको डा. पोखरेलको ठम्याई छ । हुन पनि अवस्था कस्तो देखिन्छ भने राजनीतिक दलले भोट र सस्तो लोकप्रियताका लागि उपचार व्यवस्थाको लोकप्रिय नारा लगाएका छन् । तर, व्यवहारमा त्यस अनुरुप दृढ भएर कदम चालिरहेका छैनन् । अस्ति २० बैशाखमा मात्र प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्ध लड्ने व्यवस्था मिलाएको भन्दै नागरिकलाई सम्बोधन गरेका थिए । तर, सत्ताका लागि दौडधुपका गतिविधि नियाल्दा उनले त्यही दिनबाट त्यो सम्बोधन भुलिसकेका छन् ।