NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बिहीबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक

काठमाडौं । बिहीबार मध्यरातदेखि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान रोकिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्म रोक्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान रोकिने भएको हो । आन्तरिक उडान भने मंगलबार मध्यरातदेखि नै रोकिएको छ । नेपाल–भारतबीच उडानमा एयर बबल सम्झौता अनुरुप सातामा दुईवटा उडान हुने भएको छ । यसबाहेक आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ । बिहीबार अन्तर्राष्ट्रियतर्फ २६ प्रस्थान र २५ आगमन गरी ५१ उडान निर्धारण गरिएको छ । भारतबाट आउनेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने हवाइ उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका विभिन्न आठ होटल तोकेको छ । वैशाख मसान्तसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोकिए पनि यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चार्टड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । यस्तो थियो पोहोर अघिल्लो वर्ष कोभिड–१९ सङक्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो । चैत १० देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान रोकेको थियो । महामारी घटेपछि गत भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याएको थियो ।