NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कांग्रेस झापाले पार्टीका सबै भवन कोरोना निवारणका लागि सरकारलाई प्रयोग गर्न दिने

काठमाडौं । नेपाली कांग्रेस, झापाले जिल्लामा रहेका पार्टीका सबै भवनहरु कोरोना रोकथाम र उपचारका लागि प्रयोग गर्न सरकारलाई दिने निर्णय गरेको छ । सूचना, सञ्चार तथा प्रचार विभाग झापाको संयोजनमा कांग्रेस झापाले शुक्रबार आयोजित भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । ‘बैठकले जिल्लामा रहेका पार्टीका सबै भवनहरु कोभिड निवारणका लागि सरकारलाई उपयोग गर्न दिने निर्णय गरेको हो,’ कांग्रेस झापाका सभापति उद्धव थापाले बताए । कांग्रेस झापाले कोभिडबाट ज्यान गुमाएका नेता,कार्यकर्ताप्रती श्रद्धाञ्जली र परिवारमा गहिरो दुस्ख व्यक्त गर्दै उपचाररत नेता कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कोभिड महामारी विरुद्ध लड्न पार्टीले जिल्ला तहमा सभापति थापा, क्षेत्रीय तहमा क्षेत्रीय सभापति र तहगत रूपमा सभापतिहरूको संयोजकत्वमा समिति निर्माण गरी नागरिकको घरदैलोमा पुग्ने निर्णय गरेको छ । पार्टीको क्रियाशील सदस्यताका विषयमा पार्टी केन्द्रको निर्देशन र तोकिएको कार्यतालिका अनुसार काम गर्ने निर्णय गरेको सभापति थापाले बताए । प्रधानमन्त्री र राष्ट्रपति नै संविधान मास्न अग्रसर बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधान मास्न अग्रसर भएको आरोप लगाएका छन् । बैठकमा बोल्दै नेताहरुले कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपति दुवै मिलेर संविधान समाप्त गर्ने षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएका हुन् । प्रधानमन्त्री ओलीको इसारामा राष्ट्रपति भण्डारी ‘नाचेको’ निष्कर्ष निकाल्दै संसदीय व्यवस्था र संविधान विपरीत गतिविधि नगर्नसमेत बैठकले आग्रह गरेको छ । कांग्रेस झापाले राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन पार्टी केन्द्रीय समितिलाई लिखित आग्रह गर्ने निर्णय गरेको सभापति थापाले बताए । कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले जिल्लाको कोभिड संक्रमणको तथ्यांक प्रस्तुत गरेको कार्यक्रममा प्रचार विभाग संयोजक कृष्ण हुमागाईंले संयोजन र सञ्चालन प्रचार विभाग सचिव राजेन्द्र गौतमले गरेका थिए । कार्यक्रममा जिल्ला पार्टी नेताहरू राम कट्टेल, देउमान थेवे, भगीरथ पोद्दार, केशवराज पाण्डेलगायतका नेताहरुले बोलेका थिए । पालिका समितिका सभापति, प्रदेश निर्वाचन समितिका सभापति, क्षेत्रीय समितिका सभापतिले राय प्रस्तुत गरेको कार्यक्रममा सरकारको अकर्मण्यताको चर्को आलोचना भएको थियोे । कांग्रेस झापाले सरकारको पछिल्लो गतिविधिले संविधान मास्ने र संसदीय व्यवस्थाकै धज्जी उडाएको किटान गर्दै त्यस्ता हर्कत नरोकिए ज्यानको बाजी थापेर संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।