NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

घरमै पुगेर गुहार्दा पनि एम्बुलेन्स आएन, अस्पताल पुग्न नपाएर बिरामीको मृत्यु

सुर्खेत । स्थानीय सरकारको लापरबाहीका कारण सल्यानमा एक बिरामीको मृत्यु भएको छ । स्थानीयका अनुसार बिहीबार राति बिरामीलाई बनगाड कुपिण्डे नगरपालिकाको एम्बुलेन्सले अस्पताल नलैजाँदा बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । स्थानीयका अनुसार नगरपालिकाको वडा नम्बर ७ बस्ने भोलाबहादुर बुढाको एम्बुलेन्सको पर्खाइमा मृत्यु भएको हो । बुढालाई बिहीबार राति ११ बजे श्वासप्रश्वासमा समस्या भएपछि नगरपालिकाको आइसोलेसन लगिएको थियो । आइसोलेसनमा उपचार गर्न सम्भव नभएपछि स्वास्थ्यकर्मीले उनलाई जिल्ला वा प्रदेश अस्पताल रेफर गरेका थिए । बिहीबार राती एम्बुलेन्स बोलाए पनि समयमै एम्बुलेन्स नआउँदा बुढाको शुक्रबार बिहान मृत्यु भएको छ । मृतकका आफन्तले नगरपालिकाले समयमा एम्बुलेन्स उपलब्ध नगराउँदा बिरामीले मृत्यु भएको बताएका छन् । ‘बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स खोज्यौंं । तर, एम्बुलेन्स चालकले स्वास्थ्य शाखाको अनुमतिबिना बिरामी नबोक्ने अडान लिए’, मृतककी बहिनी भुमा वलीले भनिन्, ‘एम्बुलेन्स कुर्दाकुर्दै दाजुको मृत्यु भयो ।’ बिहीबार राति बनगाड कुपिण्डे नगरपालिकाको एम्बुलेन्स चालक दलबहादुर पुन र स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलको घरमै पुगेर बिरामीका आफन्तले अस्पताल पु¥याउने वातावरण मिलाउन आग्रह गर्दासमेत एम्बुलेन्स उपलब्ध नभएको उनले बताइन् । संयोजक पोखरेलको घरमा परिवारले उनी घरमा नभएको भन्दै बिरामीका आफन्तलाई फर्काएका थिए । एम्बुलेन्सकै पर्खाईमा बिरामीको मृत्यु भएपछि आफन्तले पोख्रेलमाथि कारबाहीको माग गर्दै नगरपालिकामा नाराबाजी गरेका छन् । स्वास्थ्य संयोजक पोख्रेलले आफ्नो गल्तीका कारण बिरामीको मृत्यु भएको स्वीकार्दै आफूले क्षमा चाहेको बताए । ‘मृतकका सदस्यबाट बिहीबार राति पटक–पटक फोन आएको थियो,’ उनले भने, ‘मैले फोन उठाएको थिइनँ । घरमै आएर बोलाउँदा पनि जवाफदेही नभएको हुँदा मेरो गैरजिम्मेवार पूर्ण व्यवहारका कारण बनगाड कुपिण्डे नपा–७ घर भई हाल बनगाड कुपिन्डे–१ सल्लीबजार बस्ने बर्ष ४९ का भोलाबहादुर बुढाको मृत्यु भएकोप्रति ध्यानाकर्षण भएको छ । मेरो यस्तो व्यवहारप्रति क्षमायाचना चाहन्छु । आगामी दिनमा यस्तो गल्ती पुनः नदोहोरिने समेत प्रतिबद्धता जाहेर गर्दछु ।’ पोख्रेलले नेपालवाचसँगको कुराकानीमा आफू दिनभर खटेकाले राति निदाइसकेपछि मात्रै बिरामीका आफन्त आउँदा सहयोग गर्न नसकेको बताए । यता नगरपालिकाका सूचना अधिकारी धर्मराज ढकालका अनुसार नगरपालिकाले स्वास्थ्य शाखा संयोजकको जिम्मेवारी दिएका पोखरेलले आफ्नो कर्तव्य पालना नगर्दा यस्तो घटना भएको बताए । ढकालले भने, ‘वासुदेव सर राति सुतिसक्नु भएको रहेछ । बिरामीका आफन्तले सम्पर्क गर्दा फोन नउठेपछि घर पनि जानु भएछ । तर, उताबाट वासुदेव सर नभएको सूचना दिइएछ । एम्बुलेन्सको एक डेड घण्टाको ढिलाईका कारण बिरामीको ज्यान गएको देखिएको छ ।’ ढकालका अनुसार पोख्रेलमाथि नगरपालिकाले छानबिन गर्ने प्रक्रिया अघि सारेको छ ।