तनहुँको शुक्लागण्डकीमा मोबाइल रक्तदान अभियान गरिने
काठमाडौं । निषेधाज्ञाको समयमा रगतको अभाव हुँदै जान थालेपछि शुक्लागण्डकी नगरपालिकामा मोबाइल रक्तदान अभियान सञ्चालन गरिने भएको छ । दुलेगौंडास्थित शुक्लागण्डकी एफएम, लियो क्लब अफ दुलेगौंडा, खैरेनी सिटी र युवा नेपाल समिति तनहुँको बिहीबार बसेको बैठकले संयुक्तरूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीमा ठुलो संख्यामा रक्तदाताहरु जम्मा गराएर कार्यक्रम गर्न सकिने अवस्था नरहेकाले मोबाइल भ्यानमार्फत नगरका विभिन्न स्थानमा पुर्याएर रक्तदाताबाट रगत संकलन गर्ने निर्णय गरिएको युवा नेपाल समितिका ऋतु भुवाईले जानकारी दिइन्् । विभिन्न अस्पताल तथा क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र पोखराले रगत अभावमा सुत्केरी महिला, दीर्घ रोगी र मिर्गौलाका नियमित डायलाइसिसका बिरामीले कठिनाइ भोग्नुपरेको बताएपछि उक्त अभियान थालिएको उनले बताइन् । शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले नगरपालिकाको कोत्रे, गाछेपानी, दुलेगौंडा, ढोरफिर्दी, खैरेनीटार, बेलचौतारा र खैरेनीटारमा कार्यक्रम गरी ३० युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको जानकारी दिए । इच्छुक रक्तदाताहरुले व्यक्तिगत वा पाँच जनाको समुह बनाएर मोबाइल भ्यान बोलाउन सकिने उनले बताए । निषेधाज्ञाका कारण नियमितरूपमा रक्तदान हुन नसकेकाले रगतको अभाव हुन थालेको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए । पोखराका विभिन्न ठाउँमा मोबाइल भ्यान लगेर केही मात्रामा संकलन गरिरहे पनि पर्याप्त नभएको उनले बताए ।
प्रतिक्रिया