NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

राष्ट्रपति कार्यालयमा महन्थको पत्र : देउवालाई साथ दिएका १२ सांसदलाई मान्यता नदिइयोस्

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपाका १२ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका छन् । पार्टीका ३२ मध्ये १२ जना सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष पुगेकोमा उनीहरुमाथि कारवाही प्रक्रिया चलेको र पार्टीले आधिकारिक रुपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै दुवै नेताले ती हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका हुन् । जसपाले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय नभएको जानकारी समेत उनीहरुले गराएका छन् । पार्टी निर्णयविपरित हस्ताक्षर गर्ने सांसदहरुमाथि पार्टीले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाएकाले १२ जनालाई गणना नगर्न लिखित आग्रह गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । शुक्रबार दिउँसोको बैठकमा तटस्थ बस्ने बताएका महन्थले साँझ सरकारको दावी गर्नेबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका थिए । यस्तै नेकपा एमालेले पनि देउवालाई समर्थन गर्ने २६ सांसदको हस्ताक्षरमा मान्यता नदिन पत्र पठाएको छ । एमालेले उनीहरु सबै सांसदलाई कारबाही गर्ने उक्त पत्रमा उल्लेख गरेको छ ।