NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

स्वास्थ्य संकटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीव्र

काठमाडौं । जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्वउपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा संकटकाल लागु भएको भए पनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको शुक्रबार जानकारी दिएका हुन् । अघिल्लो वर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सारिएको हो । प्रतियोगिता एक वर्ष पछाडि सार्दासमेत महामारी कायमै रहेपनि प्रतियोगिता सञ्चालन गर्नेगरी अहिले तयारी भइरहेको हो । प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा पनि जापानका धेरै ठाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि संकटकाल लगाइएको छ । जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको संख्यामा वृद्धि हुँदै आएको अधिकारीहरुले जनाएका छन् । अष्ट्रेलिया ओलम्पिक कमिटिका अध्यक्षसमेत रहेका भएका कोट्सले भर्चुअल माध्यममार्फत अष्ट्रेलियाबाट नै प्रतियोगिताको तयारी सन्तोषजनक तरिकाले नै अगाडि बढीरहेको जानकारी दिए । प्रतियोगिताका आयोजकमध्येका सरोकारवालाहरुसँग भएको तीन दिने बैठकपछि उनले स्वास्थ्य विज्ञहरुको सल्लाहअनुसार तयारीका कामहरु भइरहेको बताए । त्यसैगरी विश्व स्वास्थ्य संगठनका मान्यता र निर्देशिकालाई पनि ध्यान दिइएको उनको भनाइ छ ।