NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एमाले जोगाउन दोस्रो तहका नेता सक्रिय, पुनः वार्ताको प्रयास

काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमाले एकता जोगाउन पुनः प्रयास सुरु भएको छ । दोस्रो तहका नेताहरुको प्रयासपछि पुनः औपचारिक छलफलतर्फ नेताहरु जाने भएका छन् । आज नेकपा एमाले स्थायी कमिटी बैठक बस्दैछ । छुट्टै पार्टी खोल्ने माधव नेपालले यसअघि नै घोषणा गरिसकेका छन् । तर, ओली–नेपाल पक्षका युवा नेताहरु पार्टी फुटाउने पक्षमा छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानन्त्री बनाउन हस्ताक्षर गरेपछि समाधान हुन लागेको समस्या पुनः बल्झिएको थियो । त्यसपछि शेरबहादुर देउवाको साथमा लागेर माधव नेपाल सर्वोच्च पुगे । आफ्नै पार्टीका नेताहरु यसरी आफ्नो सरकार ढाल्न उद्दत देखिएपछि ओलीले स्थायी कमिटीबाट नेपालसहित ११ नेतालाई निश्कासन गरेका छन् । आज बस्ने बैठकले पनि महत्वपूर्ण निर्णय लिइने बताइएको छ । तर, त्यसअघि अन्तिम प्रयास स्वरुप सोमबार राति दुवै पक्षका दोस्रो तहका नेताहरु छलफलमा बसेका छन् । याक एण्ड यति होटलमा उनीहरुबीच पार्टी एकताका विषयमा अबेर रातिसम्म छलफल भएको थियो । पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने प्रयासमा सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको पक्षबाट वार्ता गरेका छन् । नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहमागी थिए । वार्तालाई अनौपचारिक छलफल भनिएको छ । त्यहाँबाट के निर्णय भयो भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर, फुटको घोषणा हुनै लागेको एमालेलाई यो छलफलले विभाजन हुनबाट रोक्ने अपेक्षा गरिएको छ । यसअघि पनि विष्टबाहेकका नेताहरु सोही होटलमै बसेर छलफल गरेका थिए । तर, त्यसको भोलिपल्टै नेपाल समूहका सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउने पत्रमा हस्ताक्षर गर्न पुगे । कार्यदलमा छलफल चलिरहेका बेला एकाएक माधव समूहका सांसदको निर्णयले कार्यदल नै भंग भयो र सहमति भाँडियो । हिजो राति बसेको उक्त बैठकपछि आज बस्ने स्थायी कमिटी बैठकबाट देउवाको पक्षमा हस्ताक्षर गर्ने १२ सांसदलाई गर्ने भनिएको कारबाही केही दिन रोकिने सम्भावना बढेको छ ।