NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

वरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । सर्वोच्च अदालत बारका प्रतिनिधिसँग मंगलबार भएको भेटमा जबराले त्यसका लागि आफूले सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिवर्तन गर्ने जानकारी दिएका हुन् । जबरा सहमत भएसँगै प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन हुने भएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीशद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि कानून व्यवसायीहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च बार एशोसिएसनका पदाधिकारीहरुबीच मंगलबार छलफल भएको थियो । त्यसक्रममा संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश सहमत भएका हुन् । हाल देखिएकाे विवादलाई कसरी समाधान गर्न सकिन्छ र भविष्यमा पनि इजलास गठन गर्दा विवादरहित कसरी बनाउन सकिन्छ भन्नेमा आफूहरुकाे छलफल भएकाे सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । एक साताभित्रै नियमावली परिवर्तन गर्ने प्रतिबद्धता जबराले दिएको उनकाे भनाइ छ । ‘संवैधानिक इजलासको नियममै आवश्यकताअनुसार परिर्तन गरी सिनियारिटीका आधारमा संवैधानिक इजलास गठन गर्ने र यसरी गठन गर्दा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट वा स्वास्थ्यका कारण बस्न नसक्ने भयो भने कारणसहित नबस्ने नोटिस गरेपछि त्यसभन्दा तला वरिष्ठतामा जो छ, उसलाई राखेर बेञ्च गठन गर्न सम्माननीयज्यू सहमत हुनु भएको छ,’ उनले भने ।